बाबु छोरा एकैदिन डिएसपीमा बढुवा : कसरी मिल्यो संयोग ?

बाबु छोरा एकैदिन डिएसपीमा बढुवा : कसरी मिल्यो संयोग ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरी हेडक्वाटरले साउन २ गते ३७ जना इन्सपेक्टरको डिएसपीमा बढुवा गर्यो । जसमा जनपद प्रहरी समूहतर्फ ३४ र प्राविधिक प्रहरी समूहतर्फ ३ जना बढुवा भएका थिए । यसमा अनौठो संयोग के छ भने एउटै पदमा एकै परिवारका दुई बाबु छोरा बढुवा भएका छन् ।

नेपाल प्रहरीमा यो संयोग सामान्यतया मिल्दैन । तर, जनपद प्रहरी समूहतर्फ कास्कीको माछापुच्छ्रे गाउँपालिका– ४ का राजेन्द्र अधिकारी र प्राविधिक प्रहरी समूहतर्फ उनका कान्छा छोरा ध्रुव अधिकारी एकसाथ बढुवा भएका छन् । यो खबर सुन्नेहरुका मुखबाट एउटै शब्द सुनिन्छ– ‘अरे वा कस्तो संयोग !’

अधिकारी परिवार विगतबाट नै सुरक्षाकर्मीमा आकर्षित थियो । राजेन्द्रका बुबा नरपति अधिकारी पनि भारतीय सेनामा कार्यरत थिए । राजेन्द्र २०५१ सालमा असई पदबाट नेपाल प्रहरीमा छिरेका थिए । २०५७ सालमा सईमा बढुवा भएका उनी २०६७ सालमा इन्स्पेक्टर बने ।

यता ध्रुव भने बुबाभन्दा २४ वर्षपछि अर्थात २०७५ सालमा नेपाल प्रहरीमा भर्ना भएका थिए । बाबु राजेन्द्रलाई छोरा भर्ना भएको पदमा पुग्नै १० वर्ष लाग्यो । प्रहरी सेवामा प्रवेश गरेको १६ वर्षपछि राजेन्द्र इन्सपेक्टर भएका हुन् । राजेन्द्र इन्सपेक्टर हुँदा पनि ध्रुव प्रहरीमा प्रवेश गरेकै थिएनन्। त्यसको ८ वर्षपछि मात्रै उनी प्रहरी सेवामा प्रवेश गरे।

२४ वर्षको अन्तरालमा भर्ना भएका बाबु छोरा एकैदिन एकै पदमा बढुवा हुनुको मुख्य कारण हो फरक फरक क्षेत्र । प्रहरीका प्राविधिक समूहमा छिटो बढुवा हुन्छ । जनपद प्रहरीतर्फ एउटै पदमा १० वर्ष बस्नुपर्छ । तर प्राविधिकतर्फ एउटै दर्जामा लामो समय रहनु पर्ने बाध्यता छैन ।

‘इन्जिनियरिङ’ क्षेत्रबाट प्रहरीमा प्रवेश गरेका धुव यहि कारण छिटो बढुवा भएका हुन् । सेवामा प्रवेश गरेको ४ वर्षमै बढुवा हुँदा बाबुछोरा एउटै दर्जामा एकै दिन पुगे । बाबु छोरा एउटै दिनमा एउटै पदमा पुग्नुले आफू ‘सरप्राइज’ रहेको डीएसपीमा बढुवा भएका राजेन्द्र बताउँछन् ।

‘यो संयोग सामान्यतः मिल्दैन, तर हामी बाबु छोराको केसमा मिल्न आयो । यो हाम्रा लागि अनौठो संयोग हो,’ उनी भन्छन्, ‘जे हुन लेखेको छ त्यो हुन्छ नै जस्तो लाग्यो । मेरो बुबा पनि भारतीय सेना रहनुभयो, म प्रहरीमा आएँ र कान्छा छोरा ध्रुव पनि प्रहरीमा ।’