काठमाण्डु – तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति नपसेको बताएका छन् ।
बिहीबार संसदीय छानविन विशेष समितिलाई बयान दिँदै तत्कालीन अर्थमन्त्री शर्माले करको दर हेरफेर गरेको भन्ने आरोपलाई खण्डन गर्दै बाहिरको मान्छे मन्त्रालयमा पस्ने कुनै सम्भावना नै नरहेको बताएका हुन् ।
‘त्या को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । सुरक्षाकर्मी, मर्यादापलकहरु हुन्छन । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । सिसीटिभी फुटेजबारे मन्त्राीलाई कसरी थाहा हुन्छ कहिलेसम्म रहन्छ भन्ने कुरा,’ उनले बयान दिँदै भनेका छन् ।
शर्माले गत जेठ १४ गते राती अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिलाई सहभागी गराई करको दायरा हेरफेर गरेको समाचार ३० गते सार्वजनिक भएको थियो । त्यसपछि उक्त विषयमा संसदीय छानविन समितिले उनीसँग बयान लिएको हो ।
बुधबार तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेरमा संलग्न गराएको भन्ने समाचार लेख्ने पत्रकारहरुसँग पनि समितिले छलफल गरेको थियो ।
संसदीय विशेष छानबिन समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य छन् ।




प्रतिक्रिया