काठमाण्डु- काठमाण्डुको तीनकुने गैह्रीगाउँस्थित स्काइ वल्र्ड कल सेन्टरमा सोमबार प्रहरीले छापा मारेको छ । प्रहरीले अवैध गतिविधि गरेको आशंकामा उक्त कल सेन्टरमा छापा मारेको हो ।
त्यहाँ २ हजारभन्दा बढी युवा युवतीहरू काम गर्दै आएको पाइएको छ । प्रहरीले छापा मारेपछि त्यहाँ कार्यरत कर्मचारी बाहिरिएका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाण्डुको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको एसएसपी भरत बोहोराले जानकारी दिएका छन् ।
व्यवस्थापन पक्षसँग अहिले सोधपुछ भइरहेको उनको भनाइ छ । एसएसपी बोहराकाअनुसार एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए ।
उक्त कल सेन्टरले भारतीय नागरिकलाई ऋण दिँदै आएको र पैसा असुल्दै आएको बुझिएको छ । आइतबार पनि भैरहवाको तिलोत्तमा नगरपालिका २ जानकी नगरस्थित ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरमा प्रहरीले छापा मारेको थियो ।
छापा मार्ने क्रममा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले एक जना भारतीयसहित ९ जना टिम लिडरहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूले सर्वसाधारणलाई चिठ्ठा परेको म्यासेज पठाउने, अश्लिल म्यासेज पठाएर चरित्र हत्या गरी रकम उठाउने जस्ता काम गर्दै आएको पाइएको थियो ।




प्रतिक्रिया