एजेन्सी – चिनियां कम्युनिष्ट पार्टी(सीपीसी) को महाधिवेशन अक्टोम्बरमा हुने भएको छ । सीपीसीको मंगलबार आयोजित पोलिटकल ब्यूरोको बैठकले २० औं महाधिवेशनको मिति अक्टोम्बर १६ का लागि तय गरेको हो ।
चिनियां कम्युनिष्ट पार्टीको महाधिवेशन हरेक पांच पांच वर्षमा आयोजना हुने गर्दछ । चिनियां कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सि जिनपिङको अध्यक्षतामा बसेको बैठकले १९ औं केन्द्रीय समितिको सातौं पूर्ण बैठक र पार्टी महाधिवेशनको तयारीको बारेमा छलफल गर्नुको साथै महाधिवेशनको मिति समेत तय गरेको हो ।
केन्द्रीय समितिको पूर्ण बैठक अक्टुम्बर ९ मा बोलाउने निर्णय समेत बैठकले गरेको छ । बैठकले राष्ट्रिय महाधिवेशन बोलाउनको लागि पूर्ण सत्रमा प्रस्ताव पेश हुनेछ ।
२० औं महाधिवेशन सम्पूर्ण पाटी र सिंगो राष्ट्रको लागि महत्वपूर्ण भएको भन्दै महाधिवेशनले सबै हिसाबले आधुनिक समाजवादी देश निर्माणको नयां यात्रा तय गर्ने र दोस्रो शताब्दीको लक्ष्यतर्फ अग्रसर हुने विश्वास लिइएको छ ।
महाधिवेशनबाट चिनियां विशेषतासहितको समाजवादको झण्डा बोकेर माक्र्सवाद, लेनिनवाद, माओत्सेतुङ विचार,देङ सियाओपिङ सिद्धान्त,तीन प्रतिनिधिको सिद्धान्त एवम् विकासमा वैज्ञानिक दृष्ट्रिकोणमा कायम रहने र चिनियां विशेषतासहितको समाजवादबारे सी को विचारलाई पूर्ण रुपमा कार्यान्वयन लागु गर्ने निर्णय भएको सिन्ह्वाले जनाएको छ ।
महाधिवेशनले विगत पाँच वर्षमा पार्टीको कामको मुल्याङकन गर्नुका साथ सम्पूर्ण पार्टी, चिनियाँ जनता र सबै जातीय समूहका जनतालाई एकताबद्ध र अगुवाइ गर्ने, सी चिनफिङसहित पार्टीको केन्द्रीय समितिको प्रमुख उपलब्धि र बहुमूल्य अनुभवको समीक्षा गर्नेछ । त्यसका साथै नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादलाई कायम राख्ने र विकास गर्नेमा समेत महाधिवेशनले जोड दिनेछ ।
महाधिवेशनले अन्तर्राष्ट्रिय र घरेलु परिस्थितिको गहिरो समिक्षा गर्ने, नयाँ युगमा पार्टी र देशको विकासका लागि नयाँ आवश्यकताका साथै जनताका नयाँ अपेक्षालाई व्यापक रूपमा आत्मसात गर्नेछ ।
सिन्हवाकाअनुसार महाधिवेशनले कार्ययोजना र प्रमुख नीतिहरू तर्जुमा गर्ने, पार्टीका सबै सदस्य र देशका सबै जातजातिलाई इतिहासप्रति विश्वास कायम गर्न, ऐतिहासिक पहललाई सुदृढ गर्न, भएका कामका आधारमा नयाँपन र बहादुरीका साथ अगाडि बढ्नको लागि समेत योजना बनाउनेछ ।
चीनलाई सबै हिसाबले आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्न र चिनियाँ राष्ट्रको महान् पुनरुत्थानलाई सबै पक्षमा अगाडि बढाउनका लागि पार्टीका सबै सदस्यहरू र देशका सबै जातजातिका जनतालाई एकसाथ काम गर्न र परिचालन गर्ने सिपीसीले जनाएको छ ।
यो महाधिवेशनले चिनियां राष्ट्रपति सि जिनफिङको तेस्रो कार्यकाललाई वैधानिकता दिनेछ । यसअघि २०१८ मा उनको कार्यकालको सिमा हटाइएको थियो । यो महाधिवेशन चीनको लागि सबैभन्दा महत्वपूर्ण कार्यक्रम हो ।
पार्टीको २० औं महाधिवेशनबाट राष्ट्रपति सी जिनफिङ फेरी निर्वाचित हुने निश्चित भएपनि प्रधानमन्त्री र अन्य महत्वपूर्ण पदाधिकारीको भने टुंगो लागेको छैन् । चीनका हालका प्रधानमन्त्री ली कछयाङले विदा लिने घोषणा गरिसकेका छन् । महाधिवेशनमा २३ सय प्रतिनिधि सहभागी हुनेछन् ।
चीनमा प्रधानमन्त्रीका रुपमा अहिलेका उपप्रधानमन्त्रीहरु हु चुनहवा,ली कुयांग,ली सीमध्ये एक जना चुनिने सम्भावना छ । तर, निकटता र वरियताको हिसावले हु नै प्रधानमन्त्री बन्ने सम्भावना बढी रहेको चर्चा छ । उनले चिनियां राष्ट्रपतिको विचार र नीतिलाई प्रभावकारी ढंगले लागु गरेकोले सीले उनलाई प्रधानमन्त्री बनाउने सम्भावना छ ।
महाधिवेशनले केन्द्रीय समिति, पोलिटिकल ब्यूरो र केन्द्रीय अनुशासन आयोगका पदाधिकारी समेत नयां निर्वाचित गर्नेछ ।




प्रतिक्रिया