काठमाण्डु – सरकारले निर्वाचनकै मुखमा सशस्त्र प्रहरीका सुदुरपश्चिम प्रमुख डिआईजी दुर्गा भट्टराईलाई जिम्मेवारीबाट हटाएको छ । उनलाई बुधवार सुदुरपश्चिम प्रमुखबाट हटाएर राष्ट्रिय सुरक्षा परिषदमा पठाइएको हो ।
उनको ठाउँमा एसएसपी विश्व भट्टराईलाई पठाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा भट्टराईलाई हटाइएको सशस्त्र स्रोतले बतायो । निर्वाचनकै मुखमा डिआईजीलाई हटाएर एसएसपीलाई जिम्मेवारी दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
सरकारले आर्थिक अनियमितता गरेको आरोप लागेपनि दुई नम्बर प्रदेशका डिआईजी गणेश ठाडा मगरलाई भने एक वर्ष पुगेर पनि काजमा प्रदेशमै राखेको छ । उनिमाथि घुमुवा परिचालन गरेर आर्थिक लाभ लिएको आरोप छ ।
सुरक्षा परिषद पठाइएका डिआईजी भट्टराई गत असोजमा सुदुरपश्चिमको प्रमुखमा सरुवा भएका थिए । गृहमन्त्रालयले यसअघि डिआईजीहरुको सरुवा गरेपनि एक नम्बर प्रदेश र दुई नम्बर प्रदेशका डिआईजीलाई भने शक्तिशाली मन्त्रीहरुको दबावमा त्यही राखिएको थियो ।
सशस्त्र प्रहरी बलले विवादित दुई अन्य दुई जना एसपीको समेत सरुवा गरेको छ । सशस्त्रले सप्तरीमा कार्यरत एसपी प्रदीप खड्का र दार्चुलाका प्रमुख एसपी त्रिभुवन विष्टको सरुवा गरेको हो ।
खड्काले कमाण्ड गर्न नसकेको र विष्टले आर्थिक अनियमितता गरेको सुचना मिडियामा लगेको भन्दै सिपाहीलाई जेल हालेपछि विवादमा आएका थिए । सशस्त्र मुख्यालयले सप्तरीमा एसपी तिर्थ पौडेल र दार्चुलामा एसपी डम्बर बिष्टलाई जिम्मेवारी दिएको छ ।




प्रतिक्रिया