सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमति, थुनछेक बहस तिहारपछि

सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमति, थुनछेक बहस तिहारपछि

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुनः दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति मिलेको छ । जिल्ला अदालत काठमाण्डुले आइतबार लामिछानेलाई पुनः २ दिन थुनामा राख्न अनुमति दिएको हो ।

प्रहरीले सन्दीपमाथिको अनुसन्धान सकाएर शुक्रबार नै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । तर, सोमबारदेखि तिहार बिदाका कारण अदालत बन्द हुने भएपछि थुनछेक बहस हुन नसक्ने भन्दै प्रहरीले आइतबार सन्दीपलाई म्याद थपका लागि उपस्थित गराएको थियो ।

सो क्रममा २ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी दिनेशराज मैनालीले जानकारी दिए । साे मुद्दामा तिहारको भोलिपल्टदेखि थुनछेक बहस सुरु हुने भएको छ। अदालतले थुनछेक बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ।

सन्दीपविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । ती किशोरीले आफूमाथि सन्दीपले काठमाण्डुको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन्।

प्रहरीले सन्दीपलाई असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।