काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ।
विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै मंगलबार उनीविरूद्ध निर्वाचन आयोगमा उजुरी गरिएको हो । मंगलबार राजकुमार पाण्डेले लामिछानेको उम्मेदवारी खारेजी गर्नको लागि उजुरी दिएका थिए ।
यता लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत उजुरी पर्नु ठूलो विषय नरहेको र पत्र प्राप्त गरेपछि यसको जवाफ दिने बताए । उनले ४ वर्ष अगाडि सुल्झिएको विषय उठाएर भ्रम छर्न खोजेको दावी गरेका छन् ।
‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौंडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरिकताको विषय समेतमा विवेचना भइ सेटल भसकेपछि फेरि कति पटक स्पस्टीकरण दिनु पर्ने हो?’, उनले प्रश्न गरेका छन् ।




प्रतिक्रिया