कपिलवस्तु – कपिलवस्तुको तौलिहवास्थित बालगृहमा रहेका २४ बालकले बबिता चौधरीको हातबाट सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् ।
भाइटीकाको अवसरमा कपिलवस्तु नगरपालिका–९ जगदीशपुरकी चौधरीले बालगृहमा रहेका बालकलाई सप्तरंगी टीका र माला लगाइदिनुका साथै मिठाई, सेलरोटी र फलफूल उपहार दिइन् । उनले बालकहरूलाई टीका लगाएर आशीर्वादसमेत दिइन् ।
चौधरीले विगत २ वर्षदेखि बालगृहका बालकलाई भाइटीका लगाउँदै आएकी छन् । रगतको नाता नभए पनि बालगृहका बालकसँग आत्मीय सम्बन्ध स्थापित भएको उनले बताइन् । ‘बालगृहका भाइहरूलाई सामूहिक रूपमा टीका लगाउन पाउँदा निकै खुसी लाग्छ,’ उनले भने, ‘रगतको नाता नभए पनि यहाँका भाइहरूसँग कर्मको नाता जोडिएको छ ।’
एकैपटक धेरै भाइलाई टीका लगाउन पाउँदा आफूलाई भाग्यमानी महसूस हुने उनको भनाइ छ । चौधरीका आफ्नै १ दाइ र १ भाइ छन् ।
बालगृहमा रहेका रोहन सुनारले दिदी बबिताको हातबाट टीका लगाउन पाउँदा खुसी लागेको बताए । ‘आफ्नै दिदीसँग टीका लगाएजस्तो महसूस भएको छ,’ उनले भने । बालगृहमा लालनपालन र शिक्षादीक्षासँगै चाडपर्व पनि पारिवारिक वातावरणमा मनाउन पाउँदा आफूहरू खुसी हुने उनले बताए ।
बालगृहका प्रमुख रामप्रसाद अर्यालले बालकलाई विभिन्न चाडपर्वमा रमाइलोसँग सहभागी हुने वातावरण मिलाउँदै आएको बताए । ‘हामीले भविष्यका कर्णधारलाई सकेसम्म राम्रो वातावरण प्रदान गरेका छौँ,’ उनले भने ।
बालगृहमा १८ वर्षमुनिका २९ बालक रहेका छन् । तीमध्ये ५ जना भाइटीका मनाउन नजिकैका आफन्तको घर गएकाले बाँकी २४ जनाले बालगृहमै सामूहिक रूपमा भाइटीका मनाएका छन् ।


प्रतिक्रिया