लोकतन्त्रप्रतिको समर्पण फेरि एकपटक उजागर भयो :प्रधानमन्त्री देउवा

लोकतन्त्रप्रतिको समर्पण फेरि एकपटक उजागर भयो :प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले निर्वाचन शान्तिपूर्ण बनाएकाेमा सहभागीलाई दिए धन्यवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् ।

सभापति देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रूपमा मतदान भएको उल्लेख गरेका छन् । संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएका छन् ।

यो आम निर्वाचनमा नेपाली जनताले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौँंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको सभापति देउवाले बताएको पार्टीका मुख्यसचवि कृष्णप्रसाद पौडेलले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको सभापति देउवाको भनाइ छ ।

आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त भएको उल्लेख गर्दै कांग्रेसले निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास पनि  देउवाले लिएका छन् ।

शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकामा निर्वाचन आयोगलाई सभापति देउवाले विशेष धन्यवाद दिएका छन् ।