परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका वैदेशिक व्यापारमन्त्री ताभियोबिच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका वैदेशिक व्यापारमन्त्री ताभियोबिच द्विपक्षीय भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टर्की – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबिच द्विपक्षीय भेटवार्ता भएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुन अन्ताल्यामा रहेका मन्त्री खनालले बुधबार फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गरेका हुन् ।

भेटमा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको मानवीय सहायताप्रति आभार व्यक्त गरे ।

उनले विपद्पछिको पुन:स्थापना र पुनर्निर्माणका प्रयास, प्रभावित समुदायको पुनर्वास तथा जलवायु परिवर्तनका कारण जनजीवन, जीविकोपार्जन र पर्वतीय पारिस्थितिक प्रणालीमा परिरहेको असमानुपातिक प्रभावबारे जानकारी गराए ।

भेटमा दुवै मन्त्रीले कोप–३१ प्रक्रियालगायत पारस्परिक चासोका विषयमा विचार आदानप्रदान गरेका थिए । नेपाल र फिनल्यान्डबिचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उक्त अवसरमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, वन संरक्षण, प्रविधि तथा जलवायु कार्यका क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो ।