नाइजेरियाका ६० लाख गर्भवती र बालबालिकालाई मानवीय सहयाता आवश्यक: संयुक्त राष्ट्रसंघ

नाइजेरियाका ६० लाख गर्भवती र बालबालिकालाई मानवीय सहयाता आवश्यक: संयुक्त राष्ट्रसंघ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसंघले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहयताको आवश्यकता रहेको बताएको छ।

यहाँका बालबालिका र खासगरी पछिल्लो समयमा गर्भवती महिलाहरुमा खाद्यान्न तथा आवश्यक पोषण पुग्न नसकेकोले उनीहरुको अवस्था निकै नै नाजुक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघले बुधबार यहाँका कम्तीमा पनि ६० लाख महिला र बालबालिकामा यस्तो समस्या रहेकाले यसका लागि आवश्यक रकम सहयोग गर्नुपर्ने पनि बताएको छ। संयुक्त राष्ट्रसंंघीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले नाइजेरियाका हिंसाग्रस्त क्षेत्रहरुका महिला, गर्भवती महिला र बालबालिकाको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको बताए।

उनले यहाँका पाँच लाख भन्दा बढी गर्भवतीले आवश्यक पोषणयुक्त खाद्यान्न नै खान नपाएका बताए। उनीहरुका साथै बालबालिकाका लागि नाइजेरिया सरकार, विश्वका अन्य देश र दाता संस्थाहरुसँग आवश्यक सहयोग रकमका लागि आग्रह गरिएको प्रमुख प्रवक्ता डुजारिकले बताए।

विशेषगरी उत्तरी नाइजेरियाली क्षेत्रमा यस वर्षको मनसुनी वर्षाका कारण खेतीयोग्य जमिन पनि नष्ट हुन पुगेको तथा यहाँ हिंसाका कारण समेत नागरिकहरु प्रभावित भएकाले उनीहरुलाई अहिलोका लागि खाद्यान्नकै समस्या उत्पन्न भएको उनले बताए।

सन् २०२२ को मे महिनादेखि नै ती उत्तरी क्षेत्रमा खाद्यान्न अभाव रहेको र यहाँका बालबालिकाले कुपोषणको समस्या झेल्दै आएका पनि उनले बताए। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले केही रकमको व्यवस्था गरी हाललाई यहाँका दश हजार घरपरिवारका मानिसलाई खाद्यान्नको जोहो गरिरहेको भए पनि यो पर्याप्त नरहेकाले थप सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको हो।-सिन्ह्वा