बालेनलाई युवराजको प्रश्न- के खाएपछि मध्यरातमा जोश आउँछ ?

बालेनलाई युवराजको प्रश्न- के खाएपछि मध्यरातमा जोश आउँछ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिना पक्राउ पुर्जी मध्यरातमा पक्राउ गरेर छाडिएको घटनाबारे सरकारसँग जवाफ मागेका छन्

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले जबराको पक्राउलाई ‘कानुनी राज्य’ माथिकै प्रश्नका रूपमा प्रस्तुत गर्दै सरकारले यसको जवाफ दिनुपर्ने बताए ।

‘गएको १० गते मध्यराति पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले पक्राउ गर्‍यो । किन पुर्जी, बिना कारण एउटा गैरकानुनी राज्यको दृष्टान्त सरकारले फेरि देखायो,’ दुलालले भने, ‘हामी कानुनी राज्यमा छौं कि गैरकानुनी राज्यमा ? देश कानुनी बाटोमा हिँड्दैछ कि अराजकताको बाटोमा ?’

जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै पक्राउ गरिएको समाचार सार्वजनिक भएको प्रसंग उठाउँदै दुलालले सुरक्षा थ्रेटसम्बन्धी सरकारी दाबीमै प्रश्न गरे ।

जबराको पक्राउलाई लिएर सरकारको कार्यशैलीमाथि आक्रोश व्यक्त गर्दै दुलालले ‘मध्यरातमा जोश आउने र मध्याह्नमा होस आउने’ गरी सरकार सञ्चालकले के खाने गरेको हो भन्ने पश््रन गरे ।

‘गिरफ्तार ‘सुरक्षा थ्रेट’ दिनेलाई गरिन्छ कि ‘सुरक्षा थ्रेट’ मा पर्नेलाई गरिन्छ ? यसको जवाफ सरकारले दिनुपर्छ । यो दादागिरीको अन्त्य गरिनुपर्छ र के गरेपछि यस्तो बहुलठ्ठीपूर्ण पागलपन आउँछ म सभामुखमार्फत सरकारलाई भन्न चाहन्छु’, ‘के खाएपछि मध्यरातमा जोश आउँछ र मध्याह्नमा होस आउँछ ? सरकारले यसको जवाफ नेपाली जनतालाई दिनुपर्छ र यो देशलाई यस्तो तरिकाले चलाउन मिल्दैन । गम्भीरतापूर्वक संवैधानिक र कानूनी बाटोमा देश चलाउनुपर्छ ।’


दुलालले पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेर १२ घण्टा प्रहरी हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट कस्तो हो भन्दै प्रश्न गरे ।

‘पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा गिरफ्तार गरियो र १२ घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो,’ दुलालले भने, ‘१२ घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो ?’

दुलालले सरकार पक्षीय जेनजी समूहबाट पूर्वप्रधानन्यायाधीश तथा अन्य राजनीतिक दलका नेता र भीभीआईपीलाई सुरक्षा थ्रेट रहेको हो कि भन्दै प्रश्नसमेत गरे ।

‘कतै सरकारी जेनजीकै सुरक्षा थ्रेट त होइन ? पूर्वप्रधानन्यायाधीश र अरू राजनीतिक दलका नेताहरूलाई र भीभीआईपीहरूलाई ?’ उनले प्रश्न गरे ।

उनले विपत्तिको समयमा जनतालाई राहत दिनुपर्ने सरकारको ध्यान अन्यत्र मोडिएको आरोपसमेत लगाए । दुलालले सरकारलाई संवैधानिक र कानुनी बाटोबाट मुलुक सञ्चालन गर्न आग्रह गरे ।

‘यो दादागिरीको अन्त्य गरिनुपर्छ । यो देश हाम्रो पनि हो,’ उनले भने, ‘सरकारले पाँच वर्षको लाइसेन्स लिएको छ भन्दैमा सदासदाको पेवाजस्तो गरी यो देश चलाउन पाइँदैन ।’

उनले जबराको पक्राउ र रिहाइबारे सरकारले संसद्मार्फत स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै मुलुकलाई अराजकतातर्फ नभई संवैधानिक तथा कानुनी बाटोमा अघि बढाउनुपर्ने बताए ।