काठमाण्डु – काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालका लागि अमेरिकी राजदूतलाई परराष्ट्र मन्त्रालयसँग अनुमति लिएर भेटेको बताएका छन् । अमेरिकी राजदूत डीन आर. थम्पसनले शुक्रबार मेयर शाहसंग शिष्टाचार भेटवार्ता गरेका थिए ।
अमेरिकी राजदूत र मेयर शाहबीच भएको भेटवार्तालाई लिएर एमाले नेता भीम रावलले आपत्ति जनाएका थिए । रावलले भेटवार्ता पररराष्ट्र मन्त्रालयलाई जानकारी दिई अनुमति लिएको हो कि होइन भन्दै प्रश्न गरेपछि बालेनले सामाजिक संजालमार्फत नै जवाफ दिएका हुन् ।
रावलले सामाजिक संजालमा दुवैबीच भएको भेटवार्तालाई लिएर भनेका थिए ‘परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानूनको पद्धति मिचेर जुन कार्यालय वा निकाय प्रमुखलाई जतिबेला जो विदेशीसँग भेटवार्ता गर्न मन लाग्यो आफूखुसी गर्ने संसारमा कहीं नभएको अभ्यास नेपालमा किन? संक्रमणकालीन गठबन्धन सरकार जनउत्तरदायी हौ भने जवाफ देऊ । ’
बालेनले अमेरिकाका राजदूत थम्पसनले उनलाई पटक पटक भेट्न खोजेको र परराष्ट्र मन्त्रालयसँग अनुमति लिएर मात्रै भेट्को बताएका छन् । उनले रावललाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको जवाफ समेत दिएका छन् ।
यस्तो छ बालेनको भनाई-
अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं । हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।




प्रतिक्रिया