श्रीनगर- भारतको जम्मू–कश्मीरस्थित कुलगाम जिल्लामा बुधबार दिउँसो अज्ञात बन्दुकधारीले केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का जवानमाथि गोली प्रहार गरेका छन्। अखरान क्याम्पनजिक नाका ड्युटीमा खटिएका जवानलाई लक्षित गरी भएको घटनामा तीनजना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना दिउँसो करिब २:१५ बजे भएको हो। घाइते हुनेमा हेड कन्स्टेबल सोमवीर तथा कन्स्टेबल सन्तानो र राकेश दास छन्।
उनीहरू सीआरपीएफको ४६औँ बटालियनमा कार्यरत छन्। तीनै जनालाई उपचारका लागि अनन्तनागस्थित सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ।
एक जवानको खुट्टा, अर्काको हात र तेस्रोको ढाडमा गोली लागेको बताइएको छ। गोली चलाएपछि आक्रमणकारी मोटरसाइकलमा फरार भएका थिए। घटनापछि सुरक्षाकर्मीले क्षेत्रमा खोजी अभियान चलाएका छन् र सुरक्षा व्यवस्था कडा पारेका छन्।
दक्षिण कश्मीरको संवेदनशील क्षेत्र मानिने कुलगाममा यसअघि पनि सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण भएका छन्। कुलगाम, अनन्तनाग र शोपियाँ आसपास विगतमा आतङ्कवादी गतिविधि हुँदै आएको समाचारमा उल्लेख छ।
सञ्चारमाध्यमका अनुसार जम्मू–कश्मीरमा सन् २०२४ देखि हालसम्म ५४८ आतङ्कवादी घटना भएका छन्। ती घटनामा ४५ सुरक्षाकर्मीको मृत्यु भएको र १३८ जना आतङ्कवादी मारिएको जनाइएको छ।


प्रतिक्रिया