काठमाण्डु– बलिउड सुपरस्टार सलमान खानसँग एउटै पर्दामा देखिने अवसर धेरै कलाकारका लागि सपना हुन सक्छ। नेपाली अभिनेता अनुपविक्रम शाहीका लागि त्यो सपना अब ‘मातृभूमि : मे वार रेस्ट इन पिस’को ट्रेलरमै साकार भएको छ-त्यो पनि सलमानसँग आमनेसामने भिड्ने चिनियाँ सेना मेजरको भूमिकामा।
मंगलबार राति सार्वजनिक साढे चार मिनेट लामो ट्रेलरमा अनुप केही पटक सलमानसँग भिडन्तमा उत्रिएका देखिन्छन्। फिल्ममा सलमान भारतीय सेनाको नेतृत्वमा छन् भने अनुप चिनियाँ जनमुक्ति सेनाका मेजर बनेका छन्।
उनीहरूबीचका संवाद, आमनेसामनेका दृश्य र द्वन्द्वले ट्रेलरमा अनुपको उपस्थितिलाई दमदार बनाएको छ। उनको भूमिका कति लामो र प्रभावकारी छ भन्ने चाहिँ पूरा फिल्म हेरेपछि मात्रै थाहा हुनेछ।
निर्देशक अपूर्व लाखियाका अनुसार फिल्मको कास्टिङका लागि विश्वभरका कलाकारको अडिसन लिइएको थियो। त्यही छनोट प्रक्रियाबाट अनुप भूमिकाका लागि छानिएका हुन्। फिल्मको सार्वजनिक कार्यक्रममा लाखियाले उनलाई नेपालका चर्चित कलाकारका रूपमा परिचय गराउँदै विशेष पात्रको जिम्मेवारी दिएको बताएका थिए।

अनुपले पनि सलमानसँग पहिलोपटक भेट्दा आफू निकै नर्भस भएको सुनाएका थिए। यो अवसर दिएकोमा निर्देशक लाखियालाई धन्यवाद दिँदै उनले सलमानलाई आफ्नो सपना साकार पार्न सहयोग गर्ने व्यक्ति भनेर प्रशंसा गरेका थिए।
ट्रेलरमा नेपाली कलाकार अनुपसँगै स्वर्गीय अभिनेता तथा गायक प्रशान्त तामाङलाई पनि देख्न सकिन्छ। फिल्मको छायाङ्कनकै क्रममा निधन भएका प्रशान्तको भूमिका ट्रेलरमा अर्थपूर्ण देखिन्छ। उनको पात्रलाई फिल्ममा कसरी प्रस्तुत गरिएको छ भन्ने दर्शकको चासो रहनेछ।
नेपाली दर्शकमाझ अनुप प्रायः खलनायकका भूमिकाबाट परिचित छन्। सन् २०१३ मा ‘म्यानहन्ट इन्टरनेसनल नेपाल’को उपाधि जितेपछि मोडलिङ हुँदै उनी अभिनयमा आएका थिए।
‘ठमेल डट कम’बाट नायकका रूपमा सुरुवात गरेका अनुपले ‘हँसिया’मा खलनायकको भूमिका निर्वाह गरेपछि चर्चा बटुले। ‘कृ’मा अनमोल केसीको विपक्षी पात्रका रूपमा देखिएपछि उनी ‘ह्यान्डसम भिलेन’का रूपमा पनि चिनिए। पछिल्लो समय उनी ‘१२ गाउँ २’मा देखिएका थिए।
‘मातृभूमि’ अनुपका लागि नेपाली पर्दाबाहिर आफ्नो अभिनय चिनाउने ठूलो अवसर बनेको छ। ट्रेलरले सलमानसँग उनको भिडन्तको झलक दिएको छ; अब फिल्मले उनको पात्रलाई कति ठाउँ दिन्छ र दर्शकले कसरी लिन्छन् भन्ने प्रतीक्षा छ।
सलमान खान फिल्मस्को प्रस्तुति रहेको चलचित्रलाई अपूर्व लाखियाले निर्देशन गरेका हुन्। अभिनेत्री चित्रांगदा सिंह सलमानकी पत्नीको भूमिकामा देखिएकी छन्।
सन् २०२० मा भारत र चीनबीच गलवान उपत्यकामा भएको सैन्य झडपको पृष्ठभूमिमा बनेको फिल्मले सैनिकको वीरता, बलिदान र पारिवारिक पीडासँगै युद्धभन्दा शान्ति ठूलो हुने सन्देश दिने निर्माण पक्षले जनाएको छ।
यसअघि ‘ब्याटल अफ गलवान’ नाम राखिएको फिल्मको शीर्षक पछि परिवर्तन गरेर ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ बनाइएको हो। चलचित्र आगामी डिसेम्बर ४ अर्थात् मङ्सिर १८ गतेदेखि प्रदर्शनमा आउने तय भएको छ।
ट्रेलर यहाँ हेर्नुहोस्





प्रतिक्रिया