जनताको अपेक्षाअनुसार डू एण्ड डाईको मनस्थितिमा काम गर्नुपर्नेछ : सिके राउत

जनताको अपेक्षाअनुसार डू एण्ड डाईको मनस्थितिमा काम गर्नुपर्नेछ : सिके राउत

हामीलाई अन्तिम आशाको रूपमा हेरेका छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताएका छन् ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षाअनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे । शनिबार पार्टीद्वारा काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरूको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने योजना पनि बताए ।

अध्यक्ष राउतले जनताको अपेक्षा पूरा गराउनका लागि आगामी दिनमा झन बढी सहयोगको अपेक्षा गरिएको पनि जिकिर गरे । एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उनको भनाइ थियो ।

त्यस्तै उनले आफूलाई कतिपयले अन्तिम आशा समेत भनेकोमा आफूलाई डर लागिरहेको पनि बताए । ‘मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ । अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरी हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ ? अन्तिम आशा तोडियो भने के हुन्छ त ? देश निराशा जान्छ । जनता निराशामा जान्छन्,’ उनले थपे, ‘त्यो भएर यदि जनताले हामीलाई अन्तिम आशाको रूपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनु पर्दछ । त्यो एक जना व्यक्तिले सांसद हुँदैमा, मन्त्री हुँदैमा वा प्रधानमन्त्री हुँदैमा पनि त्यो पूरा हुने होइन । हामी सबै मिलेर जुन सपना हामीले बन्यौँ । त्यसको लागि दिनरात काम गर्न सक्यौ भने मात्रै हामी जनअपेक्षामा खरो उत्रन सक्छौँ ।

म तपाईहरुलाई विशेष आग्रह गर्न चाहन्छु–आगामी दिनमा पनि तपाईंहरुको सल्लाह, सुझाव जे छ, त्यो खुला हृदयले दिनुहोस् । म त्यसलाई लिइराख्छु, सुन्छु । त्यही अनुसार मनन गर्छु । काम गर्छु । र, हामीले कतै पनि बाटो बिराएको खण्डमा तपाईंहरु एकदम निर्धक्क भएर मलाई रोक्नुहोस् । त्यस अवसरमा उनले निर्वाचनमा ठूलो आशा र भरोसाका साथ आफ्नो पार्टीलाई मतदान गरेको भन्दै मतदाताहरूलाई धन्यवाद समेत व्यक्त गरे ।