काठमाण्डु – इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई अवैध सुनसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट गएको अनुसन्धान टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हाे।
सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरी स्रोतको भनाइ छ । मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिमाथि छानबिन सुरू गरेको थियो ।
केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको छ । केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ ।
यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ।




प्रतिक्रिया