काठमाण्डु- सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीहरुलाई कुटनैतिक नियोग तथा विभिन्न राजनैतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचारण सम्बन्धि स्थायी आदेश २०७९ जारी गरेको छ ।
गृहमन्त्री रवी लामिछानेले नेतृत्व सम्हालेसंगै गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनैतिक दलका नेताहरुलाई भेट्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी बल नेपालले स्थायी आदेश जारी गरेको हो ।
सशस्त्रको यो निर्णयबाट आफुखुशी भेटघाट गर्ने परम्पराको अन्त्य हुनेछ भने भेटघाट गर्नुपरेमा आचारण सम्बन्धि स्थायी आदेशनुसार अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने भएको छ । सशस्त्र प्रहरी कर्मचारीहरुले सरकारी प्रयोजनको लागि भेटघाट गर्नुपर्ने भए संगठनको तर्फबाट सम्बन्धित कर्मचारीको नाममा जारी गरिएको रवानापत्र वा तोक आदेशपत्र साथमा लिई जानुपर्नेछ ।
यसैगरी कुतनैतिक भेटघाटका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी गरिएको कुतनीतिक आचारसंहिता, २०६८ मा उल्लेख भएनुसारको प्रक्रिया पुरा गर्नुपर्ने सशस्त्रले जनाएको छ । साथै सशस्त्र प्रहरी बल नेपालले सांगठनिक तथा व्यक्तिगत भेटघाट तथा सम्पर्कको लागि र विभिन्न संचारमाध्यहरुसँग सम्पर्क एवं अन्तरवार्ताको लागि दुई वटा स्वीकृतीको निवेदन फारम समेत जारी गरेको छ ।
भेटघाट तथा सम्पर्क सम्बन्धमा राजपत्राङ्कति अधिकृतहरुले फारम अनुसारको निवेदन आफु कार्यरत कार्यालबाट सिलसिलेवार रुपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मार्फत सशस्त्र प्रहरी महानिरीक्षकबाट स्वीकृती लिनुपर्नेछ, भने राजपत्र अनङ्कित कर्मचारीहरुले आफु कार्यरत कार्यालय मार्फत सिलसिलेवार मानवश्रोत विभाग प्रमुखको स्वीकृती लिनुपर्नेछ र सो स्वीकृतीको जानकारी मानवश्रोत प्रमुखले सशस्त्र प्रहरी महानिरीक्षकलाई गराउनु पर्नेछ ।
यसरी स्वीकृती लिई गरिएको भेटघाट तथा सम्पर्कको संक्षिप्त विवरणको जानकारी सिलसिलेवार रुपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा दिनुपर्ने छ । यसका साथै सो स्थायी आदेशमा विभिन्न संचारमाध्यहरुमा सम्पर्क तथा सूचना आदनप्रदान गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वा सूचना अधिकारीबाट मात्र गर्नुपर्नेछ भने मातहत इकाईका सूचना अधिकारीहरुले सशस्त्र प्रहरी बल नेपालको परिचालन सम्बन्धमा सूचना प्रवाह गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्तासँग समन्वय गर्नुपर्ने छ ।
सशस्त्र प्रहरी प्रवक्ता, सहायक प्रवक्ता तथा सूचना अधिकारीहरु बाहेक अन्य सशस्त्र प्रहरी कर्मचारीले संचारमाध्यममा कुनैपनि सूचना संप्रेषण गर्नुपरेमा वा अन्तरवार्ता दिनुपरेमा स्थायी आदेशमा जारी गरिए अनुसारको निवेदन दिई सशस्त्र प्रहरी प्रवक्ता मार्फत सशस्त्र प्रहरी महानिरीक्षकको स्वीकृति लिनुपर्ने छ ।
आचरण सम्बन्धि स्थायी आदेश कडाईका साथ पालना गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण मातहत इकाईहरुलाई निर्देशन दिनुको साथै कुनैपनि कर्मचारीले आचरण सम्बन्धि स्थायी आदेश विपरीत कार्य गरेको पाईएमा सशस्त्र प्रहरी नियमावली बमोजिम कडाभन्दा कडा विभागीय सजाय गरिने संगठनको नीति रहेको सशसत्र प्रहरीका सहायक प्रबक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन् ।




प्रतिक्रिया