काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने स्पष्ट पारेका छन् । सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले वर्तमान सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादी सामेल नहुने बताएका हुन् ।
बैठकमा उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको दाबी गरे । ‘देशको राजनीतिक आफ्नै जटिलता छन्। हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन। कुनै पनि शक्तिको पछि लाग्दैन। हामी आफ्नो देश अघि बढाउन चाहन्छौं। हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौं,’ नेपालले भने ।
नेपालले तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका थिए ।
यता एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुनेबारे शर्त अघि सारेका छन् । सोही बैठकमा लिखित प्रस्ताव राख्दै नेता खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा जान सकिने बताएका हुन् ।
तत्काल पार्टी एकता हुन सक्ने अवस्था नरहेकाले वामपन्थी दलहरुबीच कार्यगत एकता भएमा सरकारमा सहभागी हुन सकिने खनालको प्रस्तावमा उल्लेख छ ।




प्रतिक्रिया