प्रधानमन्त्री दाहालले आज निर्देशनात्मक सम्बोधन गर्ने

प्रधानमन्त्री दाहालले आज निर्देशनात्मक सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्। उनले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन निर्देशनात्मक सम्बोधन गर्ने भएका हुन्।

प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले साेमबार छलफल गरेका थिए। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले सचिवका कार्यविवरण सुनिसकेपछि आज आवश्यक निर्देशन दिनेछन्।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए। पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए।

विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार साेमबार पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गरेका हुन्। केही सचिव र विभागका प्रमुखले आ-आफ्नो विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरुले आ-आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए।