काठमाण्डु- सुुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचनको मिति घोषणा भएको दुुई दिनमा पनि दलहरूले उम्मेदवारहरूको टुङ्गो लगाउन सकेका छैनन् ।सुदूरपश्चिममा आगामी २८ गते सभामुखको निर्वाचन हुँदैछ ।
१८ गते बसेको प्रदेश सभा बैठकले २८ गते निर्वाचन गर्ने समय निर्धारण गरेको थियो । १० दिनको समय दिएर सभामुखको निर्वाचनको तयारी थाल्न प्रदेश सभा सचिवालयलाई ज्येष्ठ सदस्य मानबहादुर रावलले रुलिङ गरेका थिए। सभामुख निर्वाचन मितिको २ दिन घर्किसक्दा पनि अहिले सम्म दलहरूले सभामुखका उम्मेदवारहरूको टुङ्गो लगाउन नसकेका हुन् ।
दलहरू बिच अहिले सम्म सभामुखका विषयलाई लिएर छलफल सुरु हुन नसकेको बताइएको छ । सुदूरपश्चिम प्रदेशमा एमाले,माओवादी र नागरिक उन्मुक्ति तीनै पार्टीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । सुदूरपश्चिम प्रदेशमा अहिले सम्म कुन दलले मुख्यमन्त्री पाउने भन्ने बारे नै दलहरू बिच सहमति हुन सकेको छैन् ।
मुख्यमन्त्री, सभामुख र उपसभामुखको प्याकेजमा सहमति हुने भएको हुँदा दलहरूले अहिले सम्म उम्मेदवारको टुङ्गो लगाउन नसकेको बताइएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभामा सात सदस्य निर्णायक` हुँदा सरकारको समीकरण कस्तो हुन्छ भन्नेमा अन्यौलता छ ।
नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज पाठकले केन्द्रको समीकरणको टुङ्गो नलाग्दा कुन दलले कुन पद लिनेबारे निश्चित नभएको जानकारी दिनुुभयो । माओवादीले मुख्यमन्त्री पाउने अवस्थामा एमालेले सभामुख र नागरिक उन्मुक्तिले उपसभामुखमा चित्त बुझाउनु पर्ने सम्भावना रहेको विष्लेषण गरिएको छ ।
त्यस्तै एमालेले मुख्यमन्त्री पाउने अवस्थामा माओवादीले सभामुख र नागरिक उन्मुक्तिले उपसभामुख तथा नागरिक उन्मुक्तिले मुख्यमन्त्री पाउने अवस्थामा माओवादीले सभामुख र एमालेले उपसभामुखमा पनि चित्त बुझाउनु पर्ने हुनसक्ने कतिपयको तर्क छ ।
सुदूरपश्चिमा माओवादीको ११, एमालेको १० र राप्रपाको १ सिट छ । कांग्रेसका १९ , नेकपा एकीकृत समाजवादीको ४ र १ स्वतन्त्र सांसद रहेका छन् ।




प्रतिक्रिया