काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहालसंग माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेशका नेताहरुले भेटवार्ता गरेका छन् । माओवादी केन्द्रका सुदुरपश्चिम इन्चार्ज खगराज भट्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालसंग भेटवार्ता गरेकोे हो ।
भट्ट माओवादीको संसदीय दलको नेता र मुख्यमन्त्रीका दाबेदार हुन् । भट्टसहित नेकपा (एमाले) का संसदीय दलको नेता राजेन्द्रसिंह रावल र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलको नेता रामेश्वर चौधरी मुख्य दाबेदार छन् । भट्ट र रावल मुख्यमन्त्री आफूले पाउनु पर्ने दाबीसहित कसरत गरिरहँदा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाएमात्रै सरकारमा जाने नत्र सरकारमा नजाने र सरकार गठनमा पनि सहयोग नगर्ने अडान राख्दै आएको छ ।
सत्तारुढ दलको भागवण्डामा सुदुरपश्चिम प्रदेश माओवादीले पाउने सहमति छ । तर, नागरिक उन्मुक्ति पार्टीले समेत प्रदेश सरकार आफुहरुले पाउनुपर्ने अडान राखेपछि समस्या भएको छ ।
शुक्रबार भएको भेटवार्तामा प्रधानमन्त्री दाहालसंग प्रदेश सरकार गठनबारे छलफल भएको थियो । छलफलमा नेता हरि चौधरी र प्रदेशसभा सदस्य ओमविक्रम भाट समेत सहभागी थिए । प्रधानमन्त्री दाहालसंग प्रदेश सरकार निर्माण र त्यहांको परिस्थितिबारे छलफल भएको प्रदेशसभा सदस्य भाटले जानकारी दिए ।
नेपाली कांग्रेसले नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्रलाई साथ लिने प्रयास गरिरहेको छ । स्वतन्त्रसहित यी पार्टीहरुको समीकरण बनेमा सदस्य संख्या ३२ पुग्नेछ । बहुमतको सरकार गठनका लागि २७ जना सदस्यको समर्थन आवश्यक पर्दछ ।
प्रदेशमा सभामा ठूलो दल कांग्रेसबाट १९, एकीकृत समाजवादीबाट चार, राप्रपाबाट एक जनाको प्रतिनिधित्व छ । एक जना स्वतन्त्र सदस्य छन् । कांग्रेसलाई उन्मुक्तिले समर्थन गरे उसकै नेतृत्वमा सरकार बन्ने सम्भावना पनि छ ।
सत्तारुढ दल माओवादी केन्द्रसंग ११, एमालेसंग १०,नागरिक उन्मुक्तिसंग ७ जना सांसद छन् । उनिहरु तिनै दल मिले भने सत्ता गठबन्धनकै सरकार बन्ने अवस्था छ ।
नयां सरकार गठनका लागि प्रदेश प्रमुखले पुष २७ गते सांझ सम्मको समय दिएका छन् । नयां सरकार गठनका लागि कांग्रेस र सत्तारुढ माओवादी र एमालेका नेताहरु सक्रिय भएका छन् । दुवै दलले नागरिक उन्मुक्तिलाई सहमतिमा ल्याउन प्रयास गरिरहेका छन् । अन्तिमसम्म सहमति नभए उन्मुक्तिलाई नै मुख्यमन्त्री दिने सम्भावना समेत बढेर गएको छ ।




प्रतिक्रिया