किन पठायो एकीकृत समाजवादीले जसपालाई पत्र ?

किन पठायो एकीकृत समाजवादीले जसपालाई पत्र ?


काठमाण्डु- नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताका लागि पहल भइरहेको छ ।

दुबै पार्टीका शीर्ष नेताबीच चलिरहेको एकता वार्ता अब औपचारिक रुपमै अगाडि बढेको हो । जसअनुसार एकीकृत समाजवादीले एकताका लागि जसपालाई पत्र पठाइएको छ ।

एकीकृत समाजवादीको गत बिहीबारको सचिवालय बैठकले वाम एकताका लागि कार्यदल गठन गरेको थियो । बेदुराम भुसाल, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको कार्यदलले जसपालाई पत्र पठाएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए ।

‘कार्यदलले आफ्नो चिठी जनता समाजवादी पार्टीलाई पठाएको छ। सो पार्टीका नेता उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, गोविन्द चौधरी लगायतका नेताहरुसँग पनि संवाद अगाडि बढाउँदैछौँ’, शनिबार आयोजित एकीकृत समाजवादी निकट नेवा संघको अधिवेशनमा उनले भने।

जसपासँग विचारमा कति मिल्ने, मार्क्सवाद र लेनिनवादप्रति कति प्रतिबद्ध हुने, समाजवादप्रति कति प्रतिबद्ध हुने यी सबैमा विचार र धारणा कति मिल्छन्, त्यसआधारमा अहिलेको राष्ट्रिय राजनीतिमा कसरी अगाडि बढ्ने, त्यो सबै टुंगो गरेर एउटा खाका तयार पार्ने र सहमतिको एउटा निश्चित आधार तयार गर्ने उनको दावी छ ।

पछिल्लो समय नेकपा एस र जसपाका नेताहरु पार्टी एकताका लागि निरन्तर छलफलमा छन् ।