नेकपाका प्रवक्ता प्रकाण्डमाथि म्यादी प्रहरी हत्याको आरोप

नेकपाका प्रवक्ता प्रकाण्डमाथि म्यादी प्रहरी हत्याको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई म्यादी प्रहरी हत्या गरेको आरोप लागेको छ।

दाङको तुलसीपुरमा नेपाली कांग्रेसको चुनावीसभालाई लक्षित गरी मंसिर १२ गते बम विस्फोटमा तुलसीपुर उपमहानगरपालिका १८ क्वाङी निवासी २३ वर्षका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएको थियो ।

प्रकाण्डविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। ‘प्रहरीको प्रतिवेदनमा प्रकाण्डले म्यादी प्रहरीको हत्या गरेको उल्लेख छ,’ प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘उनका विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा भएकाले दाङमा ल्याउन लागिएको हो।’

प्रहरीका अनुसार विश्वकर्मामाथि लगाएको यो सबैभन्दा ठूलो मुद्दा हो। विश्वकर्मामाथि लागेको आरोपको सबै प्रमाण इलाका प्रहरी कार्यालयले कार्यालय तुलसीपुरले जुटाउनेछ। विनोद चौधरीको हत्या आरोपमा प्रहरीको प्रतिवेदनमा फरार सूचीमा परेका प्रकाण्डलाई साउन २३ गते काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो।

प्रकाण्डलाई विभिन्न जिल्लाका अभियोगमा त्यहाँका प्रहरी कार्यालय र अदालत र्पुयाइँदै आएको छ। काठमाडौंदेखि पक्राउको सिलसिला सुरु गरेको प्रहरीले अदालतका विभिन्न पटकका आदेश हुनासाथ विश्वकर्मालाई पुनः पक्राउ गरी काभ्रेपलाञ्चोक, नुवाकोट हुँदै भोजपुर र्पुयाएको थियो।

भोजपुरबाट धरौटीमा छुटेका खडकबहादुर विश्वकर्मालाई फेरि पक्राउ गरी प्रहरीले दाङ ल्याउँदै छ। विश्वकर्मा्विरुद्ध भोजपुरमा तीन वटा मुद्दा दर्ता थियो।