दुई पूर्वमन्त्री पक्राउ परेपछि फरार पूर्वमुख्यसचिव अर्यालविरुद्ध पुर्जी

दुई पूर्वमन्त्री पक्राउ परेपछि फरार पूर्वमुख्यसचिव अर्यालविरुद्ध पुर्जी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाण्डुले अर्यालविरुद्ध बुधबार नै पक्राउ पुर्जी जारी गरेको हो।

सीआईबीका एक प्रहरी अनुसन्धान अधिकारी अनुसार पक्राउ पुर्जी जारी भएपछि अर्याल भारततर्फ फरार भएका हुन्। सीआईबीको विशेष टोलीले उनको खोजी तीव्र पारे पनि फेला पार्न सकेको छैन। सम्भावित स्थानसँगै सीमा नाकामा समेत निगरानी बढाइएको बताइएको छ।

यसै प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रमसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन्।

त्यसअघि सीआईबीले यही प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी छन्।

गडबडी

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मलेसिया रोजगारीका नाममा नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा अर्यालको भूमिका रहेको आरोप छ।

श्रम मन्त्रालयको सचिवका रूपमा कार्यरत रहँदा नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारीपत्र (एमओयू) विपरीत श्रमिकबाट अतिरिक्त शुल्क असुल्ने र संकलित रकम गैरकानुनी माध्यमबाट मलेसिया पठाउने प्रशासनिक तथा नीतिगत निर्णयमा उनी संलग्न रहेको सीआईबीको दाबी छ।

प्रहरीका अनुसार संगठित समूहको लाभका लागि श्रमिकमाथि भइरहेको ठगी रोक्न कानुनी उपचार नखोजेको तथा अधिकार क्षेत्र नाघेर ठूलो रकम मलेसिया पठाउन स्वीकृति दिएको आरोप उनीहरूमाथि छ।

अनुसन्धानमा उल्लेख भएअनुसार ८ करोड ३७ लाख ४३९ अमेरिकी डलर ९२ सेन्ट र ३ करोड ७१ लाख ९८ हजार ९८० पाउन्ड ८० पेन्स गरी कुल १६ अर्ब ९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा मलेसिया पठाउन स्वीकृति दिइएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो।

पक्राउ परेका व्यक्तिहरूमाथि ठगी, विदेशी मुद्रा अपचलन र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। फरार रहेका अर्यालको खोजीका लागि प्रहरीले देशभरका सुरक्षा निकाय तथा सीमा नाकामा निगरानी बढाएको जनाएको छ।