सेनाको व्यवस्थापनमा अघि बढेका आयोजना समयमै पूरा हुन्छन् : रक्षामन्त्री उप्रेती

सेनाको व्यवस्थापनमा अघि बढेका आयोजना समयमै पूरा हुन्छन् : रक्षामन्त्री उप्रेती


काठमाण्डु – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पूर्वधार विकास आयोजनालाई वस्तुगत यथार्थका आधारमा अघि बढाएमा मात्र समयमै सम्पन्न गर्न सकिने बताएका छन् ।

बुधबार रक्षा मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा एव मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिक बैठकमा उनले लगानीअनुरुपको परिणाम र उपलब्धि हासिल गर्न सकिएन भने थप आर्थिक भार पर्न सक्नेतर्फ सबै निकायले समयमै ध्यान पु¥याउनुपर्ने बताएका हुन् ।

रक्षामन्त्री उप्रेतीले भने, “काठमाडौँ तराई-मधेश द्रुतमार्ग मुलुक र जनताको आर्थिक समृद्धिका लागि सुनौलो आयोजना हो, यस्ता आयोजनालाई अघि बढाउने सन्दर्भमा आइपर्ने समस्या तत्काल सम्बोधन गर्न आवश्यक छ ।”

मुलुक आत्मनिर्भर हुन नसक्दा अनेकौँ समस्या झेल्नु परेको अवस्थालाई बुझेर काम गर्नुपर्नेमा जोड दिँदै उनले भने,“सेनाको व्यवस्थापनमा अघि बढेका आयोजना समयमै पूरा हुन्छ भन्ने आमजनताको बुझाइले निरन्तता पाओस, विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन ।”

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले मुलुकको आवश्यकता र जनताको अपेक्षाअनुरुप सेनालाई सुरक्षामा मात्र नभइ सडक पूर्वाधार विकासमा संलग्न गराइएको हुँदा आयोजना अघि बढाउने सिलसिलामा आएका चुनौतीलाई नयाँ शिराबाट सम्बोधन गर्न थप प्रयास र प्रयत्न गर्न सुझाव दिए । उनले भने, “सेनालाई सुरक्षा र विकाससँगै रोजगारी र कृषि उत्पादन वृद्धि गर्नेतर्फ संलग्न गराउनुपर्छ, कोभिड–१९ सङ्क्रमणका सन्दर्भमा सीमा नाका नजिक निर्माण गरिएका होल्डिङ सेन्टर त्यसको तालिमका लागि उपयोग गर्न सकिन्छ ।”

त्यस्तै प्रधानसेनापति प्रभुराम शर्माले नियम, कानुन, अदालत र निर्माण व्यवसायीले उठाएका विषय बस्तु यथासक्य सम्बोधन गर्दै द्रुतमार्गको काम अघि बढिरहेको बताए । उनले भने, “हुम्लामा यसैवर्ष राष्ट्रिय सडक सञ्जाल जोड्न जिम्मेवारी बोधका साथ सक्दो कोसिस भइरहेको छ, द्रुतमार्गका सन्दर्भमा पनि खोकनावासीले उठाएका संवेदनशील पक्षलाई राज्यले आवश्यक ध्यान दिनुपर्छ ।”

रक्षा मन्त्रालय मातहत सञ्चालनमा रहेको मुलुककै प्रमुख प्राथमिकतामा रहेको राष्टिय गौरवको आयोजना द्रुतमार्गको चालुआर्थिक वर्षको त्रैमासिक भौतिक प्रगति १३.६ र वित्तीय प्रगति १२.९३ रहेको सो अवसरमा जानकारी दिइयो । उक्त मन्त्रालय मातहत राष्ट्रिय गौरवका तीन वटा कोरिडोर, राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम, प्रतिरक्षा विश्वविद्यालय र बङ्करदेखि व्यारेकसम्मजस्ता आयोजना सञ्चालनमा छन् ।