काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध,सहिद तथा घाइते परिवारलाई धोका दिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई धोका दिनु कुनै अनौठो नभएको बताएका छन् ।
आइतबार सहिद, घाइते तथा वेपत्ता परिवारको सम्मान कार्यक्रममा बाल्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।
‘मलाई धोका दिनु कुनै ठुलो कुरा होइन । उहाँले मलाई २ महिना कस्तो गाह्रो भएको थियो भनेको सुने, हरियो देख्नै नहुने दाम्लो चुँडाउन खोजिहाल्ने अनि मैले रोकिदिने । अनि गाह्रो त हुने नै भयो’, ओलीले भने, ‘२०६३ पछि सबैभन्दा धेरै समय सरकारमा रहने प्रचण्ड र उनको पार्टी हो । ३ पटक त उहाँ प्रधानमन्त्री नै हुनुभयो ।’
अध्यक्ष ओलीले जनयुद्धका नाममा प्रचण्डले हिंसाको अभियान सुरु गरेको भन्दै त्यसको घाउ अझै पनि रहेको बताए। ‘त्यसको सञ्चालक शासनको कार्यकारी प्रमुख ठाउँमा छन्। लामो समयदेखि लगातार, कमसेकम संविधान निर्माण,पहिलो त २०६२/६३ को आन्दोलनपछिदेखि नै सरकारमा छँदैछन्। प्रधानमन्त्री भएको तीन वर्ष भयो, सरकारमा भएको कति वर्ष भयो, कति वर्ष’, ओलीले भने।
ओलीले २०६२/६३ को आन्दोलनभन्दा पछि कोही पनि त्यति लामो समय निरन्तर सत्तपक्ष नभएको बताए। ‘जता जोसँग मिलेर भएपनि सत्तामा हुने’, प्रचण्डको शैलीप्रति उनको टिप्पणी थियो।
वर्तमान सरकारमा सँगै रहे पनि यी दुई दलले फरकफरक व्यक्तिलाई राष्ट्रपतिमा अघि बढाएका छन्। एमालेले आफ्नै उपाध्यक्षलाई राष्ट्रपति उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले कांग्रेसको उम्मेदवारलाई समर्थन गरेको छ।




प्रतिक्रिया