ओलीको ‘प्लान बी’ देउवाले बनाए असफल, ६३ दिनमै प्रचण्डबाट धोका!

ओलीको ‘प्लान बी’ देउवाले बनाए असफल, ६३ दिनमै प्रचण्डबाट धोका!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिएको छ । सोमबार एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमवार बसेको पार्टी पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले पुस १० गते भएको सहमति पालना नगरेपछि सरकारबाट बाहिरिने निर्णय गरिएकोे उनको भनाई छ ।

पुस १० गते नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट अलग्गिएर प्रचण्ड नेकपा एमालेको कित्तामा पुगेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो चरणमा प्रधानमन्त्री पद दिन नमानेपछि प्रचण्ड एमालेसँग मिलेका थिए ।

पुस १० गते नै नेकपा एमालेसहित अन्य साना दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउनुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ठुलो हात छ । तर, प्रचण्डले जसले आफूलाई प्रधानमन्त्री बनाउन मुख्य भुमिका खेल्यो, उसैलाई धोका दिए । एमालेसँग सहकार्य गरेको ६३ दिनमै प्रचण्डले ओलीलाई धोका दिएका हुन् ।

पुस १० गते प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच प्रधानमन्त्रीमा ओलोपालो गर्ने र राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो । त्यसपछि पुस २६ गते संसदमा नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएपछि प्रचण्ड पुस १० गतेको सहमतिबाट पछि हटे ।

देउवाले प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्रीमा सघाउने प्रस्ताव गरेपछि प्रचण्ड एमालेसँग भएको पुुस १० गतेको सहमतिबाट पछि हटेका हुन् । गत शुक्रबार नेपाली कांग्रेस नेतृत्वमा रहेको माओवादीसहित पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भयो ।

साथै उक्त गठबन्धनमा प्रतिनिधिसभामा रहेका अन्य तीन दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) समेत सहभागी भए ।

यसैबीच आठ दलीय गठबन्धनले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग मिलेपछि अन्तिममा नेकपा एमालेले सरकार छाडेको छ । नेकपा एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

ओलीको ‘प्लान बी’ देउवाले बनाए असफल

पछिल्लो समय प्रचण्ड कांग्रेस तिर नजिकिन थालेसंगै पुस १० गतेको सहमितबाट पछि हटेपछि ओलीले ‘प्लान बी’ बनाए । पुस १० गतेको सहमति अनुसार नेकपा एमालेले राष्ट्रपति पाउनुपर्ने अध्यक्ष ओलीको पहिलो रणनीति थियो ।

त्यो रणनीति पुरा हुने अवस्था नदेखिएपछि ओलीले ‘प्लान बी’ बनाएका थिए । ओलीले नेकपा एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रचण्डलाई प्रस्ताव गरे । माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए प्रधानमन्त्री प्रचण्डले पनि साथ दिने ओलीको आँकलन थियो ।

तर, प्रचण्डले ओलीको उक्त प्रस्ताव पनि स्वीकार गरेनन् । प्रचण्डलाई देउवाले पाँच वर्ष प्रधानमन्त्रीमा सघाउने औपचारीक प्रस्ताव गरिसकेका थिए । त्यसकारण पनि प्रचण्डले ओलीको प्रस्तावलाई स्वीकार नगरेको बुझिएको छ । अन्तिममा प्रचण्डले राष्ट्रपनि निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गरेका छन् । अब नेपाली कांग्रस पनि सरकारमा सहभागि हुने तयारी रहेको छ ।