काठमाण्डु – राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिन चाहेको उम्मेदवारले आज लिन सक्ने र आजै उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशित गर्ने कार्यतालिका छ।
निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ । पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ । नेम्वाङलाई भने एमालेबाहेकका दलले खुलेर साथ दिएका छैनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेमकिपाले राष्ट्रपतिमा कुन दलका उम्मेदवारलाई सघाउने भन्ने विषयमा निर्णय लिइसकेका छैनन् । उम्मेदवारद्धय भने विभिन्न राजनीतिक दल र शीर्ष नेताहरूलाई भेटेर आफूलाई सघाउन आग्रह गर्दै आएका छन् ।




प्रतिक्रिया