राष्ट्रपतिको चुनावपछि मात्रै मन्त्रिमण्डल बिस्तार हुन्छ : प्रवक्ता शर्मा

राष्ट्रपतिको चुनावपछि मात्रै मन्त्रिमण्डल बिस्तार हुन्छ : प्रवक्ता शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले राष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिमण्डल बिस्तार हुने बताएकी छन् ।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी हुन् ।

त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने उनले जानकारी गराइन् । राष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उनले स्पष्ट पारिन् ।

उनले भनिन्, ‘राष्ट्रपतिको निर्वाचन पछाडि नै यसलाई व्यवस्थित ढंगले, केही छलफल पनि गर्नुपर्ने हुन्छ गठबन्धन दलभित्र । सरकारबाट निस्किसकेको अवस्थामा कुन-कुन पार्टी सरकारमा प्रवेश गर्ने त्यो कुराको पनि टुंगो लगाइसकेपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

त्यस्तै प्रवक्ता शर्माले सशस्त्र द्वन्द्व र जनआन्दोलनका क्रममा मृत्यु भइ शहीद घोषणा भइ राजपत्रमा नामावली प्रकाशित हुन बाँकी रहेका शहीदहरुको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको समेत जानकारी दिइन् ।