काठमाण्डु- सरकारले देशभरका नागरिकका लागि काठमाण्डुबाट राष्ट्रिय परिचयपत्र पाउने सहज वातावरण बनाएको छ । सरकारले अन्य जिल्ला स्थायी ठेगाना भएका नागरिकहरूका लागि पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न काठमाण्डु उपत्यका भित्र केही स्थानहरू तोकेको हो ।
बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाण्डु र ललितपुरमा गरी विभिन्न पाँच स्थानमा परिचयपत्र विवरण दर्ता स्टेसन स्थापनाबारे जानकारी दिएको थियो ।
जसअनुसार सरकारले तोकेको दर्ता स्थानमध्ये जिल्ला प्रशासन कार्यालय, काठमाण्डुमा बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषा जिल्लाका सेवाग्राहीहरूले विवरण दर्ता गर्न सक्नेछन् ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय, ललितपुरमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै तथा मधेश प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्ने जनाइएको छ ।
यता नारायणहिटी दरबार परिसरमा स्थापित विवरण दर्ता स्थानमा प्रदेश नं. १, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र मधेश प्रदेशको सिराहा, महोत्तरी, बारा र रौतहट जिल्लाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन् ।




प्रतिक्रिया