अन्तःशुल्क स्टिकर छाप्न सञ्चारमन्त्री शर्माकाे निर्देशन

अन्तःशुल्क स्टिकर छाप्न सञ्चारमन्त्री शर्माकाे निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – पनौती नगरपालिका-५ मा निर्माणाधीन सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा आउँदो चैतबाट अन्तःशुल्क ‘स्टिकर’ छापिने भएको छ । त्यसका लागि आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन भइरहेको केन्द्रले जनाएको छ ।

शुक्रबार उक्त केन्द्रको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनुगमन निरीक्षण गर्दै आगामी चैतदेखि अन्तःशुल्क स्टिकर छाप्नसमेत निर्देशन दिएकी छन् ।

केन्द्रका लागि आवश्यक भौतिक निर्माणको काम भइरहँदा मन्त्री शर्माद्वारा अनुगमनका क्रममा दुई वटा उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन (हाई सेक्युरिटी डिजिटल प्रिन्टिङ मेसिन) जडान भइसकेकाले केन्द्रका अधिकारीलाई चैतदेखि अन्तःशुल्क स्टिकर छाप्न निर्देशन दिएकी हुन् ।

“अब जनशक्तिलगायत व्यवस्थापन गरी चैतदेखि छपाइको काम सुरु गर्नुस्”, मन्त्री शर्माले निर्देशन दिइन् । उनले केन्द्रको मुख्य भवन तथा जडित मेसिन, हालै निर्माण भएको गोदाम घर, आन्तरिक पहुँचमार्गसँगै थप भवन निर्माणका लागि भइरहेको काम तथा इन्धन भण्डारण र विद्युतीय व्यवस्थापनको अनुगमन निरीक्षण गर्दै गुणस्तरीय निर्माणमा ध्यान दिनसमेत निर्देशन दिएकी हुन् । साथै उनले केन्द्रका लागि थप बजेट व्यवस्थापन गर्ने समेत बताएकी छन् ।

मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले केन्द्रमा क्रमशः राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टीकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि तयारी गरिएको बताए । उनले भने, “अन्तःशुल्क छपाइको माग भएको छ, ढिला भए चैत अन्तिम सातादेखि छाप्न सुरु गर्नेछौँ ।” केन्द्रको आवश्यकीय भौतिक निर्माणको काम भइरहेको छ ।

एक वर्षअघि इजरायलबाट ल्याइएका दुई थान छपाइ मेसिनबाट वार्षिक ६० करोड अन्तःशुल्क स्टिकर छाप्न सकिन्छ । हाल आन्तरिक राजस्व विभागले ४३ करोड अन्तःशुल्क स्टिकर छाप्न प्रस्ताव आएको केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले बताए । उनका अनुसार केन्द्रमा चैतदेखि छपाइ गर्न कागज, मसीलगायत आवश्यक सामग्रीको टेन्डर आह्वान गरिएको छ भने जनशक्ति व्यवस्थापनको प्रक्रियासमेत थालिएको छ । यसअघि नमुनाका रुपमा मात्रै अन्तःशुल्क ‘स्टिकर’ छापिएको थियो ।