सबैको आँखा शक्तिशाली मन्त्रालयमा, गठबन्धनमा कसरी हुँदैछ भागबण्डा ?

सबैको आँखा शक्तिशाली मन्त्रालयमा, गठबन्धनमा कसरी हुँदैछ भागबण्डा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूणर्ता दिन गृहकार्य सुरु गरेका छन्। संसदबाट दोश्रोपटक विश्वासको मत पाएसंगै प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन सत्ता गठबन्धनभित्र छलफल सुरु गरेका हुन् ।

दोस्रो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री पुष्पकमल दाहालले १ सय ७२ सांसदको साथ पाए । उनलाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी लगायत पार्टीले विश्वासको मत दिएका छन् भने नेकपा एमाले, राप्रपा र नेमकीपाले विश्वासको मत दिएनन् ।

विश्वासको मत पाएपछि नै एकदुई दिनभित्रै सरकारलाई पूणर्ता दिने गरी छलफल अघि बढाउने बताएका प्रचण्ड चैत १० गतेभित्र सरकारलाई पूणर्ता दिने तयारीमा जुटेका छन् ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले संघ र प्रदेश सरकारलाई आलोपालो प्रणालीबाट पुनर्गठन गर्ने विषयमा छलफल पनि सुरु गरेका छन्। तर, अबै दलका आँखा धेरै बजेट भएका र शक्तिशाली मन्त्रालयमा पर्दा १० दललाई भागबण्डामा सन्तुष्ट बनाएर लैजान भने प्रधानमन्त्री प्रचण्डलाई निकै सकस परेको छ ।

योसंगै गठबन्धनमा अब मन्त्रालय कसरी लिने भन्ने बिषयमा छलफल सुरु भएको हो । २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिने सबैलाई भागबन्डा मिलाउने गरी सांसदका आधारमा मन्त्री दिने प्रस्ताव सत्ता गठबन्धनमा अघि सारेका छन् ।

सांसदहरुको संख्याको आधारमा भागबन्डा मिलाउँदा १० मन्त्रालय दाबी गरेको कांग्रेसलाई ८ वटा दिने प्रचण्डको प्रस्ताव छ । माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्रालय माग गर्दा प्रचण्डले सोहीअनुसार दिनेगरि प्रस्ताव राखेका छन्। यसअघि पनि गठबन्धनकै कारण महत्वपूर्ण मन्त्रालय आफ्नो पोल्टाबाट फुत्काएको माओवादी पनि गृहसहित उर्जा लगायतका शक्तिशाली मन्त्रालय लिनुपर्ने अडानमा छन्।

यसअघि रास्वपाका सभापति रवि लामिछानेलाई दिईएको सो मन्त्रालय उनको सांसद पद गएसंगै माओवादीले दावी गरेको थियो । साही पार्टीलाई मन्त्रालय फिर्ता नगर्दा रास्वपा सरकारबाटै बाहिरिएको थियो। यस्तै प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको खण्डमा तीन मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ । तर, उसले भने ४ मन्त्रालय पाउनुपर्ने दावी गरेको छ । यद्यपी रास्वपा अहिल्यै सरकारमा जाने कि नजाने भन्ने बिषयमा निश्कर्षमा पुगेको छैन । पार्टी सभापति रवि लामिछाने बैशाख १० को उपनिर्वाचनबाट जितेर आएपछि जाने भन्ने विषयमा अनिर्णित छ ।

यस्तै नेकपा एकीकृत समाजवादीले पनि गृहसहित ३ वटा शक्तिशाली मन्त्रालयको प्रस्ताव गरिसकेको छ । पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे अब छानीछानी मन्त्रालय लिने पालो आफूहरुको भएको बताउदै आएका छन्।

यद्यपी प्रधानमन्त्री प्रचण्ड भने नेकपा एसलाई २ मन्त्रालयमा मनाउने योजनामा छन्। यद्यपी पाण्डेले भने संसद संख्याका आधारमा मन्त्रालयको विभाजन हुँदा ३२ सिट पार्टीका प्रधानमन्त्रीका बारेमा समेत प्रश्न उठाउन सकिने उनी बताउँछन्।

यस्तै जनता समाजवादी पार्टीले पनि ४ मन्त्रालयमा दावी गरेको छ । यद्यपी प्रधानमन्त्री भने २ मात्रै मन्त्रालय दिने योजनामा छन्। यसो हुदा मधेश प्रदेशको मुख्यमन्त्री र उपराष्ट्रपति पाएको जसपा यो प्रस्तावमा सहमत हुने अवस्था भने बन्न सक्नेछ ।  यस्तै नागरिक उन्मुक्ति, लोसपा र जनमत पार्टीले पनि २-२ मन्त्रालयमा दावी गरिरहँदा प्रधनमन्त्री भने १-१ मन्त्रालयमा मनाउने योजनामा छन्।

यसअघि पार्टीका अब्दुल खानलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री बनाएर शपथ गराउदा खानेपानी मन्त्रालयमा पठाउन खोजेपछि जनमत पार्टी प्रधानमन्त्रीसंग चिढिएको थियो।

यस्तै सत्ता गठबन्धनमा सामेल जनमोर्चा भने सरकारमा नजाने भएको छ । यसअघि पार्टी अध्यक्षसमेत रहेका चित्रबहादुर केसी उपप्रधानमन्त्री दिए सरकारमा जाने चर्चा पनि बाहिरिएका थिए । स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउनेगरि प्रारम्भिक खाका पनि प्रचण्डले अघि सारेका छन्।

कांग्रेसबाट को-को छन् आकांक्षी?

नेपाली कांग्रेसले सरकारमा जाने निणर्य गरेपनि कसको नेतृत्वमा जाने भन्ने बिषय टुंगिएको छैन । पार्टी उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, नेता प्रकाशमान सिंह र इतरसमूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालामध्ये एकको नेतृत्वमा सरकारमा जाने चर्चा चुलिएको छ ।

चारै जनाको सशक्त दाबी रहेका कारण देउवालाई टुंगो लगाउन समस्या भएको छ । सार्वजनिक रुपमा मन्त्री नबन्ने घोषणा गरेका उपसभापति खड्काले पार्टी सभापति शेरबहादुर देउवासँग उपप्रधानसहितको मन्त्रालयको माग गरिरहेका छन्। उनले आफ्नो नेतृत्व नै सबैभन्दा उत्तम विकल्प भएको भन्दै पार्टी सभापतिलाई फकाइरहेका छन्।

संस्थापनइतर समूहबाट धनराज गुरुङको विकल्प नदेखिएको नेताहरुको बुझाइ छ। यता, अर्का सहमहामन्त्री बद्री पाण्डेले पनि मन्त्री बन्ने चाहना राखेका छन्। पार्टीभित्र इतर समूहको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाको नेतृत्वलाई समग्र पार्टीले स्वीकार्ने अवस्था छैन । यद्यपि, कोइराला सरकारमा जाने मन्त्रीहरुको नेतृत्व गर्दै उपप्रधानसहित परराष्ट्र पाउनुपर्ने अडानमा छन्। देउवासँग कोइरालाले यस्तो आग्रह गर्दै आएका छन्।

यस्तै नेता प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने चर्चा पनि छ । तर, पार्टीका वर्तमान महामन्त्री, पूर्व महामन्त्री, उपसभापतिहरुले सिंहको नेतृत्व स्वीकार्ने अवस्था देखिँदैन ।

पछिल्लो समय देउवाका विश्वासपात्र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वको पनि चर्चा भएको छ । महतले अर्थमन्त्री बनाइदिन देउवासँग आग्रह गरेका छन्। त्यसकारण पनि प्रवक्ता महत नेतृत्वमा जान खोज्ने चाहनालाई पनि अर्को विकल्पको रुपमा हेरिएको छ ।

देउवा पत्नी आरजु आफै पनि उपप्रधानसहितको मन्त्रालयको तयारीमा रहेको पार्टी पंक्तिमा चर्चा छ। महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा दुवै सरकारमा सहभागी नहुने बताउदै आएका छन्। अन्य मन्त्रीहरुमा सीता गुरुङ, ईश्वरी न्यौपाने लगायतको नाम पनि मन्त्री बन्ने चर्चामा रहेको छ ।