काठानण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले गठबन्धनमा सम्मानजनक भूमिका पाउने बताएका छन् ।
शुक्रबार काठमाडौँमा सम्पन्न एकीकृत समाजवादी निकट भूपू सैनिकको कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन्।
उनले कांग्रेस र माओवादीलाई धोका दिएर राष्ट्रपति बन्न नचाहेको समेत बताए । उनले भने, ‘हामीले चाहेको भए कोर्स चेञ्ज गरेर राष्ट्रपति बन्नसक्थ्यौं । तर, के हुन्थ्यो थाहा छैन । एकीकृत समाजवादी र माधव नेपाल धोकेबाज होइन । कांग्रेस र माओवादीलाई पनि धोका दियो भन्ने हुन्थ्यो । इज्जत र प्रतिष्ठाभन्दा ठूलो केही छैन । राष्ट्रपति पाउनु कुनै ठूलो कुरा थिएन । मैले धोका दिने ढंगले अघि बढ्न चाहिनँ ।’
एमाले नेतृत्वमा रहेको अहंकारको कारणले प्रतिनिधिसभाको निर्वाचनमा केही धक्का खाएको नेपालको जिकिर थियो ।
त्यस्तै ‘राजा आऊ, देश बचाऊ भनिरहेका छन्। राजतन्त्रलाई पुनर्स्थापित गर्नुपर्छ भन्नेहरू देखिरहनुभएको छ। तिनका बैठक बसेका छन्। नेपालमा कुन राजा गतिला थिए?’,नेपालले भने। उनले राजा पक्षधरलाई प्रश्न गर्ने क्रममा पूर्वयुवराज पारस शाहलाई भाेगी भएको आराेपसमेत लगाए। ‘छोरो जोगी हो कि जस्तो लागेको छ दाह्री पालेर। नझुक्किनूस, दारी पालेर जोगी हुँदैन, त्यो भोगी हो’, अध्यक्ष नेपालले भने।




प्रतिक्रिया