आगामी चुनावमा एमाले एक्लैले बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ गरिएकाे हाे : अध्यक्ष ओली

आगामी चुनावमा एमाले एक्लैले बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ गरिएकाे हाे : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताएका छन् ।

झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज आयोजित मध्यावधि समीक्षा भेलालाई सम्बोधन गर्दै उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान निर्देशन दिए।

“आगामी चुनावमा एमाले एक्लैले बहुमत हासिल गर्ने उद्देश्य सफल बनाउन यो अभियान सुरु गरिएको हो”, उनले भने, “तपाईँहरू ग्रासरुट अभिायनमा कार्यकर्ताको घरआँगनमा पुग्दा तपाईँहरूको व्यवहार मालिकजस्तो होइन, साथीजस्तो हुनुपर्छ ।”

एमालेविरुद्ध केन्द्रमा १० दलीय गठबन्धन बनाए पनि आम जनता एमालेकै पक्षमा रहेको उनको दाबी थियो । अभियानले आन्तरिक पार्टी जीवनको अन्तरविरोधहरूको समाधान गर्दै एमालेलाई देशको सबैभन्दा बलियो, जनाधारयुक्त र अनुशासित राजनीतिक शक्तिका रूपमा स्थापित गराउने उनले बताए।

उनले कोशी प्रदेशको नामाकरण कुनै पार्टी र जाति विशेषसँग नजोडिएको हुँदा यसको विरोध गरिरहेकाहरूलाई समेत एमालेका कार्यकर्ताले सम्झाउनुपर्ने बताए।

“कोशी कुनै जाति र पार्टीको पेवा होइन, हामी सबैको सभ्यताको साझा उद्गमस्थल हो”, उनले कोशी प्रदेश नामकरणका लागि प्रदेशका मुख्यमन्त्री र सांसदलाई बधाई दिँदै भने, “कौशिक ऋषिका नामबाट प्रदेश बनाइयो भनेर पनि भ्रम छरिएको सुनिएको छ । तर एउटा व्यक्ति वा ऋषिको नाममा कोशी नदीको नाम रहेको कुरा सत्य होइन । मानिस उत्पन्न हुनुभन्दा पहिले कोशी उत्पन्न भएको थियो । कोशी एउटा महान् सभ्यता हो, प्रदेशमा बसोबास गर्ने सबै जाति, धर्म र समुदायको जीवनदायी साझा पहिचान हो ।”