काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनका लागि उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।
पार्टीले एक विज्ञप्ति जारी गर्दै चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो।
उम्मेदवारीका लागि दाबी पेश गरिएकाहरूमा तनहुँ १ बाट डा. स्वर्णिम वाग्लेसहित तीनजना छन्। त्यहाँ ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेले दाबी पेस गरेका छन् । त्यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ। चितवन २ मा भने अध्यक्ष रवि लामिछानेको एकल दाबी छ ।
राप्रपाको विधानअनुसार कुनैपनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ । यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ। यसमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरुले भोट हाल्छन् ।
यदि सम्बन्धित निर्वाचन क्षेत्रमा कुल मतदाताको ०.१ प्रतिशतभन्दा कम पार्टी सदस्य रहेको अवस्थामा चाहीँ केन्द्रीय समितिले नै निर्णय गर्न सक्छ ।




प्रतिक्रिया