काठमाण्डु – नेकपा (एमाले) का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको बताएका छन् ।
जुम्लाको खलंगामा शुक्रवार विहान आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘माओवादीको शक्ति निरन्तर घटिरहेको छ, नेताको महत्वाकांक्षा बढिरहेको छ । यसले माओवादीलाई उग्रवामपन्थी दलबाट विचौलिया दलमा रूपान्तरण गरेको छ । एमाले नभए कांग्रेस, कांग्रेस नभए एमाले भन्ने मानसिकता यसैको उपज हो ।’
वर्तमान सत्ता गठबन्धन नीतिहीन र उद्देश्यविहीन भएकाले मुलुकका लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै नेता रिजालले अब मुलुकको सम्पूर्ण समय सेटिङ, ठेक्कापट्टा, भागवण्डा र कमिसनको खेलमा बित्ने चिन्ता व्यक्त गरे । उनले भने, ‘तीन महिनामा सात पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नपर्ने, महिना-महिनामा विश्वासको मत लिनुपर्ने र सम्पूर्ण समय सत्तारूढ दलकै बैठकमा बिताउनुपर्नेबाट देशको विकास होला भन्ने अपेक्षा गर्नु नै व्यर्थ छ ।’
सत्तारूढ पार्टीहरूबीच नीति र सिद्धान्तमा कुनै तालमेल नभए पनि प्रमुख नेताहरूबीच निजी स्वार्थमा भने समानता रहेको बताए । ‘आफू जसरी पनि पदमा जाने, परिवारका सदस्यहरूलाई नियुक्ति दिने, आफू निकटलाई ठेक्कापट्टा दिने जस्ता कुरामा प्रचण्ड र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा छ’, नले भने, ‘अब मुलुक दुई परिवारको प्राइभेट कम्पनीका रूपमा दुरुपयोग हुनेछ ।’
कांग्रेसको भविष्य नदेखेर नेता-कार्यकर्ताले पार्टी छाडिरहेको प्रसंग उल्लेख गर्दै रिजालले पार्टीकै पदाधिकारीसँग सल्लाह गरेर पार्टी छाड्नुले भोली उनीहरू स्वयमले पार्टी छाड्नका लागि आधार बनाएको हुन सक्ने आशंका व्यक्त गरे।




प्रतिक्रिया