नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेकाे छ : प्रधानसेनापति शर्मा

नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेकाे छ : प्रधानसेनापति शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताएका छन् । मंगलबार श्री नं ९ बाहिनी अड्डाअन्तर्गत रामेछापको मन्थलीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताएका हुन् ।

प्रधानसेनापति शर्माले भने, “देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको रक्षा गर्नु हाम्रो प्रमुख संवैधानिक दायित्व हो ।” नेपाली सेनाले सयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्वशान्ति स्थापनामा समेत ठूलो योगदान गरी विश्वमा नेपालको प्रतिष्ठा बढाएको उनको भनाइ छ ।

प्रधानसेनापतिले लामो सैनिक जीवनमा प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हित साथै नेपाली जनताको सेवामा आ–आफ्नो क्षेत्रबाट समर्पित रही आफूलाई सदैव एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकका रुपमा प्रस्तुत गर्न आग्रह गरे ।

सम्बोधनकै क्रममा उनले भूतपूर्व सैनिकको जीवनलाई थोरै भएपनि सरल, सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताए। उनले सैनिक कल्याणकारी कोषको रकम पारदर्शीरुपमा सदुपयोग गर्दै सीमित स्रोतसाधनका बाबजुद शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत सम्पूर्ण हिताधिकारीलाई सुविधा उपलब्ध गराउँदै आइरहेको र थप सेवा विस्तारमा नेपाली सेना प्रयत्नशील रहेको बताए ।

कार्यक्रममा सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले कल्याणकारी गतिविधिलाई सरल, सहज र बिस्तार गर्न निरन्तर प्रयास भइरहेको कुरा बताउँदै यस्ता सम्मेलनले भूपु सैनिकबीच आपसी भेटघाट र मिलनसमेत हुने धारणा व्यक्त गरे।

सेनाको श्री नं ९ बाहिनी अड्डाअन्तर्गत रामेछापमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन, २०७९’ गरिएको हो । आजै सोही समयमा दोलखा र सिन्धुलीमा समेत उक्त जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागिसमेत भूपु सैनिक सम्मेलन आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको हो । भूपु सैनिकको कल्याणकारी कार्यलाई समन्वय गर्ने उद्देश्यले विसं २०७० असोज २१ गते नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएको हो ।