प्रधानमन्त्री शाह स्वदेश फिर्ता हुँदै

प्रधानमन्त्री शाह स्वदेश फिर्ता हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश र्फिता हुँदैछ ।

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री शाहले शुक्रबार बिहान सम्बोधन गरेका थिए महासभालाई सम्बोधनपछि प्रधानमन्त्री शाह शुक्रबार राति न्यूयोर्कबाट स्वदेशका लागि प्रस्थान गरेका छन्।

राष्ट्रसंघका लागि नेपाल मिसनका अनुसार प्रधानमन्त्री शाह आफ्नो टोलीसहित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा हुँदै काठमाण्डुका लागि प्रस्थान गरेका हुन्।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डीसीस्थित नेपाली दूतावासका सीडीए एआई शरदराज आरण, न्यूयोर्कस्थित नेपालका कन्सुल जनरल दधिराम भण्डारी र अन्य नियोगका अधिकारीहरूले विमानस्थलमा प्रधानमन्त्री शाहलाई बिदाइ गरेका थिए।

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरूले भने ८१औँ महासभाका सम्बन्धित बैठकमा आफ्नो सहभागिता निरन्तरता दिनेछन्।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेटवार्ता गरेका थिए।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको बाढीलाई जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढिरहेको जोखिमको संकेतका रूपमा प्रस्तुत गरेका थिए। उनले जलवायु परिवर्तनले सीमा नचिन्ने भन्दै हिमालय क्षेत्रका देशबिच सहकार्य आवश्यक रहेको बताएका थिए।

उनले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्तावसमेत गरेका थिए। जोखिमयुक्त हिमतालको अनुगमन, संयुक्त पूर्वसूचना प्रणालीको विकास तथा विपद्का बेला सीमापार सहयोग समन्वय गर्नुपर्ने उनको प्रस्ताव थियो।