काठमाण्डु- नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्र अब पहिले जस्तो संसदमा फर्केर आउन नसक्ने बताएका छन् । दैलेखको ठाटीकाँध गाउँपालिकामा मंगलबार भएको नेकपा एमालेको मिसन ग्रासरूट अभियानसम्बन्धी पालिकास्तरीय समीक्षा तथा प्रशिक्षण कार्यक्रममा भट्टराईले भने, ‘केही नेता पदका लागि जतिबेला जहाँ पनि हामफाल्ने गरेका छन् । नेकपा माओवादी केन्द्र हिजो जस्तो फेरि संसदमा फर्केर आउनै सक्दैन ।’
हिजो नेकपा माओवादी केन्द्र बाढीको भल जस्तै भएको उनको भनाइ थियो । भट्टराईले आज त्यो भल सुक्दै गएको दाबी गरे । ‘हिजोको त्यो बाढी फर्केर आउँदैन’, सचिव भट्टराईले भने, ‘त्यसैले नेकपा एमालेमा माओवादीले हाम फाल्नुपरेको थियो ।’
उनले एमालेको जति पनि सत्तामा आउने बाटो रहेको बताए । उनले प्रचण्ड नेतृत्वको सरकार लुते र कमजोर भएकाले अर्थतन्त्रमा आएको समस्या समाधान गर्न असफल भएको बताए ।
कार्यक्रममा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले जनताको बहुदलीय जनवाद (जबज)को जग बनाउन एमालेले बनाएको बाटोमा सबैलाई लाग्न आग्रह गरे ।
कार्यक्रममा पालिकाका ६ वटै वडाका भएका मिसन ग्रासरूटको गतिविधिहरूबारे समीक्षा गरिएको थियो ।




प्रतिक्रिया