काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १० गते हुने उपनिर्वाचनका लागि एजेन्डामा आधारित भई बहस गर्न आग्रह गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न उनले आग्रह गरेका हुन् ।
‘उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो । उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु।’, अध्यक्ष ओलीले फेसबुकमार्फत भनेका छन् ।
उनले गत मंसिर ४ गते भएको संघ र प्रदेशसभाको निर्वाचनकाबेला पनि आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एजेन्डामा आधारित बहसका लागि आउन आह्वान गरेको उल्लेख गरे । तर सभापति देउवा बहसका लागि तयार नहुँदा आफ्नो प्रयास सफल हुन नपाएको अध्यक्ष ओलीको भनाइ छ।
‘अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ । चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना,’ उनले भने ।
वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ।




प्रतिक्रिया