काठमाण्डु- ललितपुर महानगरपालिकाले बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्ट बनाउन नदिने निर्णय गरेको छ ।
डलर अर्बपति तथा सांसद विनोद चौधरीको निर्माणाधीन अपार्टमेण्डका कारण स्थानीयहरु मारमा परेपछि महानगरले उक्त अपार्टमेण्ट बनाउन नदिने भएको हो ।
महानगरपालिकाकी उमेयर मन्जिला शाक्य बज्राचार्यले उक्त अपार्टमेण्टको कामलाई महानगरले अगाडि बढाउन नदिने काठमाण्डुपाटीलाई बताइन् । ‘ त्यो भासिएको ठाउँलाई पुर्ने काम भइरहेको छ । उक्त अपार्टमेन्टको काममा महानगरले रोक पनि लगाएको छ । अब उक्त अपार्टमेण्टको काम पनि अगाडि बढ्दैन् ।’, उमेयर बज्राचार्यले भनिन् ।
त्यस्तै घटनाबारे छानबिन गर्न महानगरपालिकाले उपमेयर बज्राचार्यको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त समितिमा सम्बन्धित वडाका दुई वडाध्यक्ष, पीडितका तर्फबाट तीन जना, समिटका प्रतिनिधि, महानगरका इन्जिनियर र प्रवक्ता छन् । समितिलाई क्षतिको विवरण संकलन, क्षतिपूर्ति विरतण र निर्माण कम्पनीलाई कारबाहीको सिफारिसको म्याण्डेट दिइएको उपमेयर बज्राचार्यले बताईन ।
‘ समिट अपार्टमेण्ट प्रकरणबारे छानबिन गर्न समिति गठन गरिएको छ । जसअनुसार समितिलाई क्षतिको विवरण संकलन, क्षतिपूर्ति विरतण र निर्माण कम्पनीलाई कारबाहीको सिफारिसको म्याण्डेट दिएको हो । जसमा घाइते भएकाहरुलाई उचारको खर्च र घरमा पुगेको क्षति अनुसार क्षतिपुर्ति कम्पनिले तिर्नुपर्ने छ । समिट अपार्टमेन्टको घटनाबारे छानबिन गरेर कम्पनीलाई कारबाही पनी गरिनेछ ’, उनले भनिन् ।
चौधरीको समिट अपार्टमेण्टको जग खन्ने क्रममा दुई वटा घर ध्वस्त भएका थिए । एउटा छ तले घरको भुईंतल्ला जमिनमुनी भासिएको थियो भने आधा दर्जनबढी घरमा क्षति पुगेको पाइएको छ । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाएर आफ्नो निजी सम्पत्तिमा क्षति पुर्याउने काम गरेको भन्दै चौधरीको विरोधमा स्थानीयहरु उत्रिएका छन् ।




प्रतिक्रिया