काठमाण्डु- २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन्। जसअनुसार आज भक्तपुरको बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।
मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते ‘जिब्रो छेड्ने जात्रा मनाइन्छ । जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगरपरिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुने गर्दछ ।
युवाहरूले नै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाएको श्रेष्ठले बताए। नवौँ पटक जिब्रो छेडाउनु भएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले यसवर्ष जिब्रो छेडाएका हुन्।
कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उहाँका भाइ बुद्धकृष्ण बाग श्रेष्ठले नौ पटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए। जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघि देखि नै केही नखाइ व्रत बस्नुपर्ने नियम छ ।




प्रतिक्रिया