काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुस १० गते प्रधानमन्त्री नियुक्त भएको १०० दिनभन्दा बढी भइसक्यो तर हालसम्म प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छैन । सुरुमा नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनका बेला गठबन्धन फेरेर नेपाली कांग्रेसको समर्थन लिए । गठबन्धन हेरफेरकै गोलचक्करमा प्रचण्ड सरकार लामो समय अपूर्ण रहेको छ ।
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्डले चैत १७ गते मन्त्रिपरिषद् विस्तार गरे तर मन्त्रिपरिषद् विस्तारमा नेपाली कांग्रेसभित्रको डा. शेखर कोइराला समूह सहभागी भएन । सभापति शेरबहादुर देउवाले आफूले मागेजति मन्त्रालय नदिएको कोइराला पक्षको गुनासो छ । कोइराला पक्षले ३ मन्त्री र १ राज्यमन्त्री मागेको छ, जसले गर्दा देउवाले कोइराला पक्ष विना नै मन्त्री नियुक्तिको सिफारिस गरिरहेका छन् ।
आज आइतवार देउवा पक्षकै सांसद एनपी साउँद परराष्ट्रमन्त्रीको शपथ लिँदैछन् । आठौं पटकको मन्त्रिपरिषद् विस्तारमा शपथ लिने साउँद एक्ला मन्त्री रहेका स्रोतले जनाएको छ । साउँदले पहिलो चरणमै मन्त्री बन्ने चर्चा भए पनि अन्तिम समयमा नाम काटिएको थियो । प्रधानमन्त्री प्रचण्डसँग अझै ५ मन्त्रालय बाँकी रहनेछन् । प्रधानमन्त्री प्रचण्डसँग कानून, न्याय तथा संसदीय मामिला, खानेपानी, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या गरी ५ वटा मन्त्रालय बाँकी छन् ।
चैत १७ गते कांग्रेसबाट देउवा पक्षकै उपप्रधानसहित रक्षा मन्त्रालयमा पूर्णबहादुर खड्का, अर्थ मन्त्रालयमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रमेश रिजाल र शहरी विकास मन्त्रालयमा सीता गुरुङ मन्त्री नियुक्त भएका थिए ।
एमाले सरकारबाट बाहिरिएपछि चैत ६ गते दोस्रोपटक विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिन प्रचण्डले ढिलाइ गरिरहेका छन् । चैत १७ गतेको मन्त्रिपरिषद् विस्तारअघि प्रचण्डले १ महिनासम्म १६ वटा मन्त्रालयको जिम्मा लिएका थिए ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, नीति तथा कार्यक्रमको घोषणा लगायतका कारण सरकारलाई पूर्णता दिन ढिलाइ भएको भन्ने गरिए पनि कांग्रेसको अन्तर्कलह र नेकपा एकीकृत समाजवादीको थप दाबीका कारण ढिलाइ भएको पाइएको छ ।
कांग्रेसबाट मन्त्री बन्ने दौडमा अझै मोहनबहादुर बस्नेत, धनराज गुरुङ, डीगबहादुर लिम्बू, जीवन परियार, बद्री पाण्डे, प्रदीप पौडेल र सुरेन्द्रराज आचार्यको नाम चर्चामा छ । कांग्रेसभित्र यतिधेरै नाम व्यवस्थापनको पेलानमा परेका छन् प्रचण्ड ।
अर्काेतिर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि थप दाबी पेश गरेका छन् । शनिवार बिहान मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग गरेको छलफलमा अध्यक्ष नेपालले आफ्नो पार्टीलाई थप १ मन्त्रालय चाहिने दाबी पेश गरेका छन् । एकीकृत समाजवादीबाट हाल डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास मन्त्री र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् ।
वैशाख १० गते हुने उपनिर्वाचनअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिँदा उपनिर्वाचनमा असर पर्ने भएकाले कांग्रेससँगकै सल्लाहमा प्रधानमन्त्री प्रचण्डले ढिलाइ गरेको स्रोतको दाबी छ । उपनिर्वाचनपछि गठबन्धनभित्र पेलेरै जाने मनस्थितिमा प्रचण्ड र देउवा रहेका जनाइएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धनका प्रमुख सहयात्री हुन् देउवा, प्रचण्ड र नेपाल । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि तीनै नेता सँगसँगै थिए । नयाँ सरकार बनाउन बालुवाटारमा जारी बैठकमा प्रचण्डलाई प्रधानमन्त्री दिन नसकिने निष्कर्ष सुनाएपछि प्रचण्ड एकाएक बालकोट पुगेर ओलीसँग हात मिलाएका थिए ।
एमाले उम्मेदवारलाई राष्ट्रपति बनाउन नचाहेपछि उनी फेरि कांग्रेस र नेकपा एकीकृत समाजवादीसँगै हात मिलाउन पुगेका हुन् । एमालेविरुद्धको गठबन्धनमा रहेका कांग्रेस र एकीकृत समाजवादीको स्वार्थ पूरा गर्दै मिलाएर लैजान प्रधानमन्त्री प्रचण्डलाई सहज देखिँदैन, मन्त्रिपरिषद् पूर्णतामा भइरहेको ढिलाइ त्यसकै प्रमाण हो ।




प्रतिक्रिया