काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताएका छन् । आइतबार तनहुँको दमौली बजारमा आयोजित चुनावी सभामा सभापति लामिछानेले सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेको उल्लेख गरे ।
“देश बनाउने सङ्कल्प बोकेर अगाडि बढेका छाैँ, यो मुद्दामा सबै राजनीतिक दलबीच सहमति आवश्यक छ,” उनले भने । सभापति लामिछानेले योग्य र सक्षम मानिस ल्याएर देशलाई समृद्ध बनाएरै छाड्ने दाबी गरे ।
देशको भ्रष्टाचारका सूचक हेर्ने हो भने भ्रष्टाचारलाई जीवनशैली मान्न थालिएको उल्लेख गर्दै उनले भने, “मुलुकमा भ्रष्टाचारको सफाइ आवश्यक छ । भ्रष्टाचार रोग बनिसकेको छ, यसले नेपाललाई धराशयी बनाउँछ । यसको विरुद्धमा उभिनैपर्छ भनेर यसको विरुद्धमा उभिएका छाैँ ।”
सभापति लामिछानेले आफूहरु गालीगलौजको राजनीति नगर्ने बताउँदै निर्वाचनका बेला रास्वपामाथि अनेक किसिमका आरोप समेत लगाइएको बताए । पैसाको बार्गेनिङ गरेको आरोपमा प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेर इमान हुनुपर्छ भन्ने सन्देश दिएको उनको भनाइ थियो ।
मन्त्री बन्न पैसाको बार्गेनिङ गरेको सञ्चारमाध्यममार्फत सार्वजनिक भएलगत्तै आफूले ७२ घण्टाभित्र कारबाही गर्छु भनेरे बोलेका कुरा पूरा गरेको लामिछानेले बताए। तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्लेले राजनीति सङ्ल्याउने र अर्थतन्त्र उकास्ने मूल कार्यसूची लिएर चुनावी मैदानमा उत्रिएको बताउनुभयो । डा. वाग्लेले जिल्लामा विकासका आयोजनाको काम सुरु भए पनि अलपत्र अवस्थामा रहेकाले त्यसलाई पूर्णता दिने प्रतिबद्धता जनाए ।




प्रतिक्रिया