लेखराजको निवास पुगेदेखि प्रधानमन्त्री प्रचण्डप्रति आक्रोशित छन् बलायर

लेखराजको निवास पुगेदेखि प्रधानमन्त्री प्रचण्डप्रति आक्रोशित छन् बलायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायर प्रधानमन्त्री पुष्पकमल दाहालसँग आक्रोशित बनेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बलायरले प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिमको भ्रमण गर्दा गठबन्धनको मूलमर्मभन्दा बाहिर गएर प्रस्तुत भएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सुदूरपश्चिम प्रदेशको राजधानी नबनाइएकोबारे संसदमा प्रश्न उठाए । बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी कसले बनाउने हो ? यस विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने बताए ।

‘०७५ सालमा घोषणा भए पनि अहिलेसम्म राजधानी निमार्ण नहुनु के हो ? गठबन्धनको नेतृत्व गर्ने प्रधानमन्त्रीले सुदूरपश्चिमको भ्रमण गर्दा गठबन्धनको मूलमर्मभन्दा बाहिर गएर प्रस्तुत भएको देखिएको छ । राजधानी कसले बनाउने हो ?,’ बलायरले सोधे, ‘हिजो गोदवारीमा भनियो, केन्द्रले भोगाधिकार दिएन । राजधानी कसले बनाउने भन्नेबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउन जरुरी छ ।’

केही दिन अगाडि प्रधानमन्त्री प्रचण्ड कैलालीको अत्तरियास्थित नेकपा एमालेका सचिव लेखराज भट्टको निवासमा पुगेका थिए । ‘यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थें । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ ।’, भट्टसँगको भेटघाटपछि प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री प्रचण्ड धनगढीको गेटा विमानस्थलबाट भट्टको निवासमा गएका थिए । प्रधानमन्त्री प्रचण्ड लेखराजको निवास पुगेदेखि सांसद बलायर भने आक्रोशित बनेका छन् ।

उनले फेरि एमालेका लेखराजसँग मिल्ने भए किन कांग्रेससँग गठबन्धन गरेको भन्ने पनि प्रधानमन्त्री प्रचण्डसँग आशय राखेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा लेखराज भट्टलाई भेटेको संकेत गर्दै सांसद बलायरले प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिमको भ्रमण गर्दा गठबन्धनको मूलमर्मभन्दा बाहिर गएर प्रस्तुत भएको दाबी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँग लेखराजले सुदूरपश्चिम प्रदेशको राजधानीबारे कुराकानी गरेको हुनसक्ने बलायरको ठहर छ । त्यसकारण बलायर प्रधानमन्त्री प्रचण्डसँग चिडिएका हुन् ।

गत मंसिर ४ गते भएको संघीय निर्वाचन अन्तर्गत कैलाली ४ मा नेपाली कांग्रेसका बलायरसँग लेखराज भट्ट पराजित भएका थिए । चुनावको बेला यी दुबै नेताको एजेण्डा भनेको प्रदेशको राजधानी थियो । त्यसबेला बलायरले कैलालीको गोदावरी नगरपालिकामा नै प्रदेश राजधानी बनाउन पहल गर्ने बारे मतदातालाई आश्वस्त दिएका थिए ।

‘मैले डोटीमा हुँदा प्रदेशको राजधानी धनगढी डेरामा छ, गोदावरी हावामा छ भनेको कुरालाई यहाँ पहाड बनाईदैंछ । मैले सही भनेको त छु, अहिले प्रदेशको राजधानी धनगढी डेरामा छैन र ? गोदावरीमा बनाइने भनेको राजधानी खै कता छ र? कसैले देख्नुभाछ, हावामै छ नी । अब यो निर्वाचनमा जितेर गठबन्धनको सरकारले प्रदेशको स्थायी राजधानी निर्माण सुरु गर्छ ।’, कांग्रेसको क्षेत्रीय कार्यसमितिले २५ असोजमा अत्तरियामा आयोजना गरेको भेटघाटमा बलायरले भनेका थिए ।