बारामा एमालेको जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल

बारामा एमालेको जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ का जनताले विकास हेर्न चाहेका कारण बैशाख १० गतेको निर्वाचनमा एमालेलाई विजयी गराउने बताएका छन् ।

चुनावी अभियानका क्रममा पचरौता पुगेका उम्मेदवार पौडेलले संचारकर्मीसँग प्रतिक्रिया दिदै एमालेलाई जिताउन बारा २ का आम मतदाता आतुर रहेको बताए ।

एमालेले नेतृत्व गर्न नपाएका कारण बारा क्षेत्र नं. २ विकासमा पछि परेको नेता पौडेलको भनाई थियो । नेता पौडेलले विकासको एजेण्डा बोकेर एमाले मतदातामाझ पुगिरहेको र मतदाता पनि एमालेलाई मत हाल्नका लागि उत्साहित रहेको बताए ।

‘देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै रहेको भन्ने जनताले बुझेका छन्’ उम्मेदवार पौडेलले भने ‘जनताले अब जातिय नारा बोकेर आउनेलाई होइन, विकासको एजेण्डा बोकेर आउनेलाई मत दिन्छन् ।’ एमालेले यतिबेला जनता आवश्यकतासंग जोडिएको विकासलाई प्राथमिकतामा राखेको बताए ।

सत्ता र स्वार्थका लागि मतदाताको भावनासंग खेल्नेहरुलाई जनताले अब बुझिसकेको भन्दै उम्मेदवार पौडेलले बारा २ को मुहार फेर्नका लागि पनि एमालेको आवश्यकता रहेको बताएका छन् ।

घरदैलोका क्रममा पचरौता, महागढीमाई, करैयामाई, देवताल, सुवर्ण र कोल्हबी क्षेत्र घुम्ने क्रममा जनताले एमालेको पक्षमा खुलेर मत मागिरहेको उम्मेदवार पौडेलको भनाई थियो । वैशाख १० गते हुने निर्वाचनबाट यस क्षेत्रले एमालेलाई जनप्रतिनिधिका रुपमा पाउने र विकासका कामले गति लिने उम्मेदवार पौडेलले बताए ।