बारा २ः यी उम्मेदवारबीच हुँदैछ कडा प्रतिस्पर्धा, उपेन्द्रलाई चुनाव जित्न कति सहज ?

बारा २ः यी उम्मेदवारबीच हुँदैछ कडा प्रतिस्पर्धा, उपेन्द्रलाई चुनाव जित्न कति सहज ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बाराको क्षेत्र न. २ यतिबेला चुनावी माहोलले तातेको छ । उपचुनाव नजिकिँदै जाँदा बारा २ मा उम्मेदवारहरुबीच प्रतिस्पर्धा गहिरिँदै गएको हो । वैशाख १० हुने उपचुनावका लागि उम्मेदवारहरु चुनावी भेला, सभा गर्न व्यस्त छन् ।

अर्कोतर्फ बारा २ मा हुने उपनिर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव नै चुनावी मैदानमा उत्रिएपछि उनलाई रोक्ने रणनीतिमा अन्य दलका उम्मेदवार झन् सक्रिय बन्दा यस क्षेत्रमा चुनावी माहोल तातेको हो ।

गत मंसिरको चुनावमा सप्तरीबाट चुनाव हारेका यादव र काठमाण्डुबाट चुनाव हारेका रमेश खरेल चुनावी मैदानमा उत्रेका छन् । यता उपेन्द्रलाई संसद छिर्नबाट रोक्न सीके राउत नेतृत्वको जनमत पार्टीले शिवचन्द्र कुसवाहालाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।

त्यसकारण यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा भने जसपा अध्यक्ष यादव, एमालेका पुरुषोत्तम पौडेल र जनमतका शिवचन्द्र कुसवाहा र रवी लामिछाने नेतृत्वको रास्वपाका खरेलबीच हुने देखिएको छ । गत मंसिर ४ गते भएको संघीय निर्वाचन अन्तर्गत सप्तरीमा जनमत पार्टीका अध्यक्ष सिके राउतबाट हार बेहोरेका उपेन्द्र कुनै पनि हालतमा संसद छिर्ने दाउमा छन् । उनलाई हालको सत्ता गठबन्धनको साथ छ ।

सत्ता गठबन्धनको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले यादवलाई सहयोग गरेको छ । त्यस्तै माधव नेपाल नेतृत्तको एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले पनि यादव लाइ समर्थन गर्ने निर्णय गरेको छ । जसपाको आन्तरिक विश्लेषणमा सप्तरीमा हारेका यादवका लागि बारामा सहजता छ । गत मंसिर ४ गते भएको निर्वाचनको अंकगणित केलाउँदा पनि उपेन्द्रलाई सहज हुने देखिएको हो ।

त्यसो त प्रत्यक्षतर्फ बारा २ बाट रामसहाय यादवले ३५४ मतान्तरले मात्रै जित निकालेका थिए । एमालेको सहयोग पाएका उनले १३ हजार ८२२ मत ल्याएर विजयी हुँदा तत्कालीन सत्तागठबन्धनका उम्मेदवार माओवादीका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए । तर, त्यतिवेला रामसहायको मत कम आउनुमा जसपाकै बागी उम्मेदवार प्रमुख कारण पनि थियो ।

किनभने बारा २ मा राम्रो प्रभाव जमाएका रामकिशोरप्रसाद यादव रामसहायकैविरुद्ध त्यहाँबाट उम्मेदवार बनेका थिए । त्यतिवेला उनले ११ हजार ४३ मत ल्याउँदै तेस्रो स्थान बनाएका थिए । त्यसवेला असन्तुष्ट रामकिशोर अहिले पार्टीमा फर्किसकेका छन् । बारा २ को समानुपातिक मतपरिणाम पनि जसपाकै पक्षमा देखिन्छ । परिणामअनुसार त्यहाँ १३ हजार २४२ मत सहित जसपा पहिलो स्थानमा छ भने कांग्रेस ११ हजार १७९ सहित दोस्रो स्थानमा ।

त्यसपछि एमालेले नौ हजार १९३, जनमत पार्टीले आठ हजार ८४६, लोसपाले ४ हजार २३५, नागरिक उन्मुक्तिले तीन हजार ७९४, माओवादीले तीन हजार २६५, नेपाल संघीय समाजवादी पार्टीले दुई हजार ३६६, एकीकृत समाजवादीले एक हजार ९९६, राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ४५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ९९२ मत ल्याएको थियो ।

गत समानुपातिक मतपरिणाम हेर्दा सत्तागठबन्धन अगाडि देखिन्छ । त्यसकारण बारा २ बाट संसद छिर्न जसपा अध्यक्ष यावदलाई सहजता देखिएको छ ।

तर, सीके रावत भने उपेन्द्र यादवको चर्को विरोध गरिरहेका छन् । बारा २ मा कुनै पनि हालतमा आफ्नो उम्मेदवारले जित्ने राउतको दाबी छ । उनले यादवलाई भगौडाको संज्ञासमेत दिएका छन् ।