देउवापत्नी आरजु राणा ३ घण्टासम्म प्रहरी कार्यालयमा धाएको त्यो रहस्य !

देउवापत्नी आरजु राणा ३ घण्टासम्म प्रहरी कार्यालयमा धाएको त्यो रहस्य !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाको नाम चर्चामा छ । सामाजिक सञ्जालमा भाइरल भएको एउटा अडियोमा उनको नाम जोडिएको छ । तर राणाले त्यो अडियोलाई ‘फेक’ भनेकी छन् ।

‘फेक’ अडियोकै सन्दर्भमा आफूले ३ घण्टासम्म प्रहरी कार्यालयमा धाउनुपरेको रहस्य उनले खुलासा गरेकी छन् । सोमवारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी राणाले प्रहरीले आफ्नो निवेदन दर्ता गराउन ३ घण्टा लगाएको बताइन् ।

राणाले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दर्ता गराएकी छन् । उनले भनिन्, ‘मैले फेक अडियोका बारेमा उजुरी दर्ता गराएको छु, त्यो दर्ता गराउन पनि प्रहरीले मानिरहेको थिएन, हुन त म जत्तिको मान्छे गएपछि फेक अडियोका बारेमा उजुरी दर्ता सहजै हुन्छ भन्ने लागेको होला, मलाई पनि त्यो उजुरी दर्ता गराउन ३ घण्टा लागेको थियो, तर आज ६ दिन नाघिसक्दा पनि प्रहरीले त्यसको यथार्थ सार्वजनिक गरेको छैन, यो दुःखद कुरा हो । म त्यो अडियोका बारेमा तत्कालै सत्यतथ्य सार्वजनिक होस् भन्ने चाहन्छु ।’

आमसर्वसाधारणले निवेदन लिएर जाँदा समेत प्रहरीले सितिमिती दर्ता गर्दैन । झन् पूर्व प्रधानमन्त्री देउवापत्नी तथा कांग्रेसकी प्रभावशाली नेत्री राणाको निवेदन प्रहरीले ३ घण्टासम्म अल्झाइदिएको रहस्य उनै राणाले खुलासा गरेकी छन् ।

उनले ‘फेक न्युज’ र ‘फेक मिडिया’ पराकाष्ठामा पुगेको आरोप लगाइन् । राणाले महिलाहरूलाई आत्महत्या गर्न मिडियाले फोर्स गरेको गुनासो पनि गरिन् ।

‘मैले पहिलो पटक यो अनुभव गरे कि नेपालमा ‘फेक न्युज’ र ‘फेक मिडिया’को पराकाष्ठा नाघेको छ, यसलाई सरकारले नियमन गर्न सुरू गरोस् र मेरो नाममा बनाइएको फेक अडियोका बारेमा सत्यतथ्य बाहिर ल्याओस् ।’

नेत्री राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूमाथि कडा कारवाही गर्न पनि माग गरेकी छन् । शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायत १३ जना पक्राउ परिसकेका छन् । अन्य केही आरोपीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।