बेइजिङ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले पार्टी अनुशासन, भ्रष्टाचार नियन्त्रण, नेतृत्व चयन र सत्ता सञ्चालनलाई थप व्यवस्थित तथा कडा बनाउने नीति अघि सारेको छ।
पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले गत साता पारित गरेको प्रस्तावमा पार्टीभित्रको अनुशासन, नेतृत्वको जवाफदेहिता, लोकतान्त्रिक केन्द्रीयता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकताका साथ समेटिएको छ।
‘पूर्ण र कठोर पार्टी स्वशासनलाई निरन्तरता दिने’ विषयमा केन्द्रित प्रस्तावले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा पार्टीको आन्तरिक निगरानी र आत्मसुधारलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
प्रस्तावमा पार्टीको दीर्घकालीन शासन क्षमता सुदृढ गर्न तथा पार्टीभित्र देखिने कमजोरी, अनुशासनहीनता र भ्रष्टाचारका समस्या नियन्त्रण गर्न उच्च मापदण्ड र ठोस उपाय अपनाउनुपर्ने उल्लेख छ।
पार्टीभित्रको लोकतान्त्रिक केन्द्रीयतालाई प्रभावकारी बनाउने विषयलाई पनि प्रस्तावले महत्त्व दिएको छ।
ठूला नीतिगत निर्णय सामूहिक छलफलबाट गर्नुपर्ने, निर्णय प्रक्रियामा सम्बन्धित नेताहरूले आफ्ना धारणा राख्न पाउने र निर्णय भइसकेपछि त्यसको कार्यान्वयनमा एकरूपता कायम गर्नुपर्ने व्यवस्था प्रस्तावमा छ।
नेतृत्व तहमा एकल निर्णय र व्यक्तिगत प्रभाव हाबी हुन नदिन पार्टी कमिटीका प्रमुखले छलफलमा सबैभन्दा अन्तिममा आफ्नो धारणा राख्नुपर्ने व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ।
पार्टी कमिटीको सामूहिक निर्णयलाई कुनै नेताले आफ्नो व्यक्तिगत निर्णयले प्रतिस्थापन गर्न वा मनोमानी ढंगले परिवर्तन गर्न नपाउने विषय पनि स्पष्ट पारिएको छ।
नेतृत्व चयन र अधिकारीहरूको व्यवस्थापनमा पनि कडाइ गर्ने नीति प्रस्तावमा छ। पदाधिकारी छनोट गर्दा राजनीतिक निष्ठा, क्षमता, कार्यशैली र अनुशासनलाई आधार बनाउने तथा व्यक्तिगत सम्बन्ध, गुटबन्दी र नातावादलाई निरुत्साहित गर्ने उल्लेख छ।
अधिकारीहरूको सम्पत्ति, खर्च तथा परिवारका सदस्यको व्यावसायिक गतिविधिमाथि समेत निगरानी बढाउने नीति अघि सारिएको छ।
भ्रष्टाचार नियन्त्रणका लागि ‘भ्रष्टाचार गर्ने आँट नहुने, अवसर नपाउने र इच्छा नै नरहने’ अवस्था सिर्जना गर्ने रणनीति प्रस्तावमा उल्लेख छ।
उच्च तहका अधिकारीदेखि तल्लो तहसम्म हुने भ्रष्टाचार, राजनीतिक र आर्थिक शक्तिबीचको साँठगाँठ, परिवारका सदस्य तथा निकट सहयोगीमार्फत हुने अनियमितता र सीमापार भ्रष्टाचारलाई नियन्त्रणको दायरामा ल्याउने नीति लिइएको छ।
त्यस्तै, सार्वजनिक पद र अधिकारको दुरुपयोग रोक्न निगरानी संयन्त्र बलियो बनाउने, भ्रष्टाचारका घटनाको अनुसन्धानपछि सम्बन्धित संस्थागत कमजोरी सुधार गर्ने र निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्ने प्रस्ताव गरिएको छ।
पार्टी अनुशासनका विषयमा पनि प्रस्ताव कडा देखिन्छ। गुटबन्दी, व्यक्तिगत स्वार्थका लागि पदको लेनदेन, नेतृत्व चयनमा चलखेल, झुटा आरोप र अफवाह फैलाउने तथा केन्द्रीय निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई निषेध गर्ने उल्लेख छ।
सरकारी कामकाजमा देखिने अनावश्यक औपचारिकता, कर्मचारीतन्त्रको ढिलासुस्ती, विलासिता र तडकभडक नियन्त्रण गर्न पनि जोड दिइएको छ।
बैठक र कागजातको अनावश्यक बोझ घटाउने, सरकारी भ्रमण तथा भोजभतेरमा हुने खर्च नियन्त्रण गर्ने र अनुशासन उल्लङ्घन गर्ने अधिकारीमाथि कारबाही गर्ने नीति प्रस्तावमा समेटिएको छ।
सीको नेतृत्वमा सीपीसीले अघि सारेको यो प्रस्ताव पार्टीको आन्तरिक अनुशासन र शासन प्रणालीलाई थप केन्द्रीकृत तथा संस्थागत बनाउने प्रयासका रुपमा आएको हो । यसले पार्टीभित्र नेतृत्वको जिम्मेवारी, सामूहिक निर्णय प्रक्रिया र केन्द्रीय समितिको निर्देशन कार्यान्वयनलाई जोड दिएको छ।


प्रतिक्रिया